श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज उहांको कार्यकक्षमा भेटी प्रस्तावित श्रम ऐनका विषयमा छलफल गर्यो ।
सो अवसरमा महासंघका उपाध्यक्ष मुरारकाले प्रस्तावित श्रम ऐनको मस्यौदाका मुख्य मुख्य प्रावधानमा छलफल गर्न आवश्यक भएको र यस सन्दर्भमा केही महत्वपूर्ण राय सुझाव समेत भएकाले मस्यौदालाई अन्तिम रुप दिनु अगाडी यस विषयमा रोजागारदाताहरुसंग छलफल गरी तत्पश्चात मात्र उक्त ऐनलाई अन्तिम रुप दिनु पर्नेमा श्रम मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । साथै उपाध्यक्ष मुरारकाले यसलाई जतिसक्दो छिटो अन्तिम रुप दिन पनि आग्रह गर्नुभयो ।
सो अवसरमा श्रम तथा यातायात व्यवस्था मन्त्री गिरीले श्रम ऐनको कार्यान्वयन गर्ने महत्वपूर्ण क्षेत्र रोजगारदाताहरुनै भएकाले यसलाई अन्तिम रुप दिनु अगाडी रोजगारदाताहरुको प्रतिनिधिमुलक संस्था महासंघसंग वृहद छलफल पश्चातमात्र अन्तिम रुप दिने विश्वास दिलाउनु भयो । सो अवसरमा महासंघको रोजगारदाता परिषदका उपसभापति मनिषकुमार अग्रवालको पनि सहभागिता थियो ।