नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यको नेतृत्वमा महासंघको एक प्रतिनिधिमण्डल आज थाइल्याण्डतर्फ प्रस्थान गरेको छ । महासंघका पूर्व अध्यक्ष, पदाधिकारीहरु, कार्यकारिणी समिति सदस्यहरु, जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघका अध्यक्षहरु, बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीहरु सम्मलित उक्त प्रतिनिधिमण्डलले थाइल्याण्ड भ्रमणको क्रममा नेपालमा लगानी प्रबद्र्धन गर्ने, आपसी व्यापार व्यवसाय अभिबृद्धि गर्ने, थाइल्याण्डबाट प्रविधि भित्र्याउने आदि बिषयमा थाइल्याण्ड सरकार, त्यहांका व्यावसायिक संगठनहरुसंग आपसी वार्ता गर्नेछन् ।
थाइल्याण्ड सरकारको नेपालमा रहेको थाइ राजदूतावासको पहलमा हुन लागेको उक्त भ्रमणका अवसरमा प्रतिनिधिमण्डलका नेता तथा सदस्यहरुले थाइल्याण्डका उपप्रधान एवं पर्यटन र खेलकूद मन्त्री कम्पोल सिलाचा–आचा (Ms. Chumpol Silapa-archa, Deputy Prime Minister of Tourism and Sports), परराष्ट्र मन्त्री डा. सुरापोङ्ग तोभिछाछाइकुल (Dr. Surapong Tovichakchaikul, Minister of Foreign Affairs), वाणिज्य मन्त्री बन्सोङ्ग तेरियापिरोम (Mr. Boonsong Teriyapirom, Minister of Commerce) संग सिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साथै प्रतिनिधिमण्डलले थाइ उद्योग महासंघ (Federation of Thai Industires), थाइ ट्राभेल एजेन्ट एशोसिएशन, Thai Air Asia, One Tamboon One Product (एक गाउं एक उत्पादन) Centre आदि निकायमा पनि भेटघाट गर्नुका साथै अ–आपसी व्यावसायिक सम्बन्धका वारेमा भेटवार्ता गर्नेछ ।
भ्रमणकै क्रममा बैकल्पिक उर्जा, सहरी विकास, आधारभूत सेवाको विकास, ह्याण्डिक्राफ्ट उद्योग, हर्वल उद्योग, फलफुल प्रशोधन, कृषि उद्योगका व्यवसायीहरुसंग संयुक्त लगानी एवं सहयोगका वारेमा बृहद छलफल हुने छ ।
प्रतिनिधिमण्डलको पर्यटन क्षेत्रका व्यवसायीहरुसंग पनि अन्तरक्रिया हुने कार्यक्रम रहेको छ । यसै भ्रमणका बेला बैंककमा महासंघको कार्यकारिणी समितिको बैठक पनि बस्ने छ । स्मरण होस् नेपालस्थित थाइ राजदूतावासको निमन्त्रणा महासंघको कार्यकारिणी समितिको अघिल्लो बैठकले आगामी बैठक बैंककमा गर्ने कार्यक्रम तय गरेको थियो ।
प्रतिनिधिमण्डलले थाईल्याण्डको विभिन्न प्रान्तको प्रगतिमा उल्लेख्य योगदान खेलेको एक गाउं एक उत्पादन (One Tamboon One Product =OTOP) अभियानको जानकारी लिनुका साथै यस केन्द्र अवलोकन गर्नेछ । यसबाट साना तथा मझौला उद्यममा संलग्न व्यक्तिहरुलाई नयां प्रविधि एवं उत्पादनको ज्ञान अभिबृद्धि हुने अपेक्षा गरिएको छ । OTOP को भ्रमणमा महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुबाट ठूलो सहभागिता रहनेछ ।