नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसँग अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का नेपालका लागि नव नियूक्त देशिय निर्देशक (ILO, Country Director) जोश अशालिनो (Jose Assalino) ले आज महासंघ सचिवालयमा भेटवार्ता गर्नुभयो ।
सो अवसरमा अध्यक्ष वैद्यले देशिय निर्देशक जोशको स्वागत गर्नुहुदैं नेपालको विद्यमान स्थिति, रोजगारदाता र कामदारहरु बीचको सम्बन्ध र सामाजिक आर्थिक विकासमा रहेका चुनौतिका वारे विस्तृत जानकारी गराउनुभयो । साथै महासंघका अध्यक्ष वैद्यले श्रम कानुन निर्माण, श्रम सम्बन्ध सुधार र नेपालको सामाजिक आर्थिक विकासमा अन्तर्राष्ट्रिय श्रम संगठनको भूमिकाका विषयमा स्पष्ट पार्दै नेपालका लागि आई. एल. ओ. जस्ता संस्थाको सहयोगको आवश्यकतामा जोड दिनुभयो ।
उक्त अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनका देशिय निर्देशक जोशले आफु सबै पक्षको भावनालाई ध्यानमा राखी नेपालको सामाजिक आर्थिक विकास तथा श्रम सम्बन्ध सुधारको क्षेत्रमा नयाँ आयाम थप्नका लागि प्रयत्नशील रहने बताउनुभयो ।
साथै उहाँले नेपालमा आफुले पहिलो पटक काम गर्ने अवसर पाएकोमा खुशी प्रकट गर्दै यस क्रममा रोजगारदाताहरुको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, आधिकारिक ट्रेड यूनियनहरु, नेपाल सरकार लगायत श्रमिक नेतृत्वहरुसँग समेत प्रत्यक्ष सम्पर्कमा रहेर नेपालको श्रम सम्बन्धलाई सुमधुर पार्ने र नीतिगत एवं कानुनी संरचना निमार्णमा पनि सशक्त भूमिका निर्वाह गर्ने विश्वास दिलाउनु भयो ।
भेटका अवसरमा महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति पशुपति मुरारका, महानिर्देशक डा. हेमन्त दवाडी, निर्देशक हंशराम पाण्डे र अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका वरिष्ठ कार्यक्रम अधिकृत सलोमन राजवंशीको उपस्थिति थियो ।