नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले सुदूर तथा मध्यपश्चिम क्षेत्रमा औद्योगिक विकासको पर्याप्त सम्भाव्यता रहेकाले यस क्षेत्रलाई राज्यले औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको छ । यस क्षेत्रको औद्योगिक विकास नभएसम्म राष्ट्रको विकास हुन नसक्ने अध्यक्ष वैद्यले बताउनु भयो ।
महासंघको सदस्य कंचनपुर उद्योग वाणिज्य संघको २४ औं साधारण सभाको उद्घाटन सहित समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि एवं महासंघका अध्यक्ष वैद्यले आवश्यक पूर्वाधार सहित औद्योगिक क्षेत्रको रुपमा घोषणा गरी त्यसको विकासका लागी लगानी गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रको चौतर्फी विकासका लागि औद्योगिक विकास अपरिहार्य भएको र औद्योगिक विकास विना मुलुक अहिलेको अवस्थाबाट माथि उठ्न नसक्ने हुंदा औद्योगिक विकासका सम्भाव्य क्षेत्रहरुको छनौट गरी अगाडी बढ्नु पर्ने सुझाव समेत दिनु भयो । सन् २०१२-१३ लाई लगानी वर्षको रुपमा घोषणा भैसकेको सन्दर्भमा अव राष्ट्रिय अन्तर्राष्ट्रिय लगानी भित्र्याउने वातावरण तयार गर्न उहांले सरकारसंग आग्रह गर्नुभयो ।
उद्योग व्यवसाय क्षेत्रलाई सबै प्रकारको दवावबाट मुक्त राखी स्वतन्त्र रुपमा संचालन हुने वातावरण बनाउन आग्रह गर्नुहुंदै अध्यक्ष वैद्यले औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो । राजनीतिक अस्थिरताले अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको तर्फ चिन्ता प्रकट गर्नुहुंदै अध्यक्ष वैद्यले भन्नु भयो-लामो समयसम्म राजनीतिक अस्थिरता कायम रहंदा लगानीकर्ताहरु लगानीका लागि हिच्किचाई रहेका छन् ।
साधारण सभामा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकालले स्थानीय क्षेत्रमा के कस्तो उद्योग व्यवसाय संचालन गर्दा दीगो र स्थायित्व हुन्छ त्यसको सम्भाव्यताको खोजी गर्न आग्रह गर्नुभयो । पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य ढकालले शान्ति र स्थायित्व अपरिहार्य तत्व भएकोमा जोड दिंदै आम राजनीतिक दलहरुले समयमै संविधान निर्माण गरी मुलुकलाई स्थायित्व दिनेतर्फ ध्यान दिनु पर्ने सुझाव दिनु भयो ।
सभापतिको आशनबाट कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हेमविक्रम थापाले सुदूरपश्चिममा विकासको अधिक सम्भाव्यता रहंदारहंदै पनि पछाडी परेको बताउनु हुंदै संघले विगत वर्षहरुदेखिनै उठाउंदै आएको मुद्दाहरुलाई सरकारले अहिलेसम्म पनि सम्वोधन नगरेको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्य लोकविक्रम थापा, कंचनपुर उवासंघका महासचिव जंगबहादुर मल्ल, कोषाध्यक्ष तेजसिंह कार्की, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, स्थानीय निकायका प्रमुखहरु, विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरुले औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा प्रमुख अतिथि एवं महासंघका अध्यक्ष वैद्यले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने आठ जना व्यक्तित्वलाई सम्मान तथा पुरष्कार वितरण गर्नु भयो ।