नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र नेपालका लागि फिलिपिन्सका राजदुत रोनाल्ड बी. अल्लारी (Ronald B. Allarey, Ambassador of the Republic of the Philippines to Nepal) बीच आज महासंघ सचिवालय टेकूमा भेटवार्ता सम्पन्न भयो । भेटका अवसरमा नेपाल-फिलिपिन्स आर्थिक-व्यावसायिक सम्बन्ध विस्तारमा विशेष जोड दिइयो ।
भेटका अवसरमा आगामी अक्टोवरमा मनिलामा हुने अन्तराष्टिय व्यापार मेलामा नेपालको सहभागिता, नेपाल-फिलिपिन्स उद्योग वाणिज्य संघ जस्ता संस्थाको स्थापना, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिका क्षेत्रमा जनशक्ति विकास, प्राज्ञिक जनशक्तिको आदान प्रदान, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका क्रममा आवश्यक सूचनाको आदान प्रदान, व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण लगायतका विषयमा विस्तृत छलफल भयो ।
त्यसैगरि वार्ताका क्रममा दुई देश बीचको आयात निर्यात व्यापार अत्यन्न न्यून रहेकाले यसलाई बढाउन दुवै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुको सहकार्यमा विशेष जोड दिइयो । यसका लागि दुवै देशका निजी क्षेत्रका प्रतिनिधिसंस्थाहरु बीच आपसी समन्वय, सहकार्य र सम्बन्ध विस्तारमा जोड दिइयो ।
सो अवसरमा महासंघका अध्यक्ष वैद्यले राजदुत अल्लारीको स्वागत गर्नुहुंदै मनिलामा हुने अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको पूर्ण सहभागिता रहने विश्वास दिलाउनु भयो । फिलिपिन्सका लागि अवैतनिक महावाणिज्यदूत समेत रहनु भएका महासंघका अध्यक्ष वैद्यले आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका माध्यमबाट दुवै देशका जनतालाई लाभान्वित गराउने कार्यमा आफ्नो तर्फबाट विशेष भूमिका निर्वाह हुने विश्वास दिलाउनु भयो ।
अध्यक्ष वैद्यले नेपालका लागि यतिखेर अन्तर्राष्ट्रिय प्रविधि एवं लगानीको खांचो रहेकाले जलविद्युत, व्यावसायिक कृषि, पर्यटन, पूर्वाधार निर्माणमा फिलीपीनी लगानीका लागि कुटनीतिक तवरबाट सहयोग गर्न राजदुत समक्ष आग्रह गर्नुभयो । साथै उहाँले दुवै देशका निजी क्षेत्र बीच सम्पर्क विस्तारमा महासंघले विशेष भूमिका निर्वाह गर्ने बताउनु भयो ।
सो अवसरमा राजदुत अल्लारीले महासंघसंगको भेटघाट निकै लाभदायक भएको र दुई देश बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा आफनो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो ।
सो अवसरमा महासंघको लगानी प्रवर्द्धन फोरमका संयोजक चन्द्रप्रसाद ढकाल, शहरी विकास फोरमका संयोजक ओम बहादुर राजभण्डारी, फिलिपिन्समा अध्ययन गरेर आएका पूर्व विद्यार्थीहरु, महासंघका महानिर्देशक लगायतको सहभागिता रहेको थियो ।