नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल भ्रमणमा रहेको फिनीस प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा उद्यमशीलता विकास मार्फत अर्थतन्त्रको मूल प्रवाहमा महिलाहरुको सहभागिताका विषयमा छलफल एवं अन्तरक्रिया सम्पन्न भयो । अन्तरक्रिया कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष सुरज वैद्य र फिनिस प्रतिनिधिमण्डलका तर्फबाट फिनिसफण्डका लगानी निर्देशक हेलिना आर्लेण्डर (Ms. Helena Arlander - Investment Director- Finnfund) ले नेतृत्व गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघ, महिला उद्यमी महासंघ नेपाल, महिला उद्यमी प्रतिनिधिहरु तथा नेपाल भ्रमणमा आएको फिनिस प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता थियो । फिनिस प्रतिनिधिमण्डलमा फिनल्याण्ड संसदका सांसदहरु, बैकर्सहरु, संचारकर्मीहरु गरी १३ जनाको सहभागिता थियो ।
नेपाली महिलाहरुको उद्यमशिलताका वारे अध्ययन एवं आवश्यक सहयोगका सम्भाव्यता विषयमा सरोकारवाला निकायहरुसंग छलफल गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको फिनिस प्रतिनिधिमण्डलसंग महासंघ सचिवालयमा भएको अन्तरक्रियामा महिला उद्यमशिलता विकासमा देखापरेका चुनौतीहरु जस्तो कर्जा प्रवाह, बैकिङ व्याजदर, बजार पहुँच, दक्ष जनशक्तिको अवस्था, सहकारी संस्थाहरुमा महिलाको पहुँचका विषयमा वृहद छलफल भयो । सो अवसरमा नेपाली महिला उद्यमीहरुका तर्फबाट उद्यमशीलता विकासका लागि कर्जाको सहज प्रवाहमा समस्या, दक्षजनशक्ति तथा आवश्यक तालीमको अभाव, बजार पहुंचमा समस्या आदिमाथि खुलेर धारणाहरु राखियो ।
सो अवसरमा फिनिसप्रतिनिधिमण्डललाई महासंघमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले पर्याप्त सम्भाव्यता हुँदाहुँदै पनि नेपाल अझै पनि आर्थिक विकासमा निकै पछाडी रहेको वास्तविकता राख्नुहुंदै जनसंख्याको आधा हिस्सा रहेको महिलाहरुको उद्यमशीलता विकास मार्फत उनीहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गर्न महासंघले आफनै संजाल मार्फत निकै धेरै कार्यहरु अगाडी बढाएको जानकारी गराउनु भयो ।
अध्यक्ष वैद्यले महासंघले संचालन गरेको एक जिल्ला एक उत्पादन, इलम प्रशिक्षण कार्यक्रमहरु मार्फत महिलाहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा समावेश गराउने प्रयास भैरहेको स्पष्ट पार्नुभयो । लामो समयकोद्वन्दका कारण अर्थतन्त्रको विकासमा नेपालले ठूलो नोक्सानी व्यहोर्नुपरेको र त्यसको प्रत्यक्ष असर ग्रामिण र दुर्गम क्षेत्र पर्न गएकाले त्यस्ता क्षेत्रमा आवश्यकताको पहिचान गरी तालीम, नविनतम प्रविधिको हस्तान्तरण, सहज ऋण प्रवाह गर्नुपर्ने र त्यसमा फिनिसफण्ड जस्ता संस्थाहरुसंग सहकार्यको सम्भाव्यता रहेको बताउनु भयो ।
फिनिस प्रतिनिधिमण्डलका तर्फबाट फिनिसफण्डका लगानी निर्देशक हेलिना आर्लेण्डर (Ms. Helena Arlander-Investment Director- Finnfund) ले नेपाली निजी क्षेत्रको प्रतिनिधि संस्था महासंघ सहितका सरोकारवाला निकायहरुसंग भएको छलफलबाट उद्यमशीलता विकासका सम्भाव्यता एवं चुनौती र महिलाहरुको आर्थिक सुनिश्चितताका लागि गर्नुपर्ने पहलका विषयमा आफुहरु स्पष्ट भएकाले यसमा के कसरी आगामी दिनमा सहकार्य गर्न सकिन्छ त्यसमा सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
महासंघको महिला उद्यमी विकास समितिका सभापति एवं महिला उद्यमी महासंघ नेपालका अध्यक्ष छाँया शर्माले यतिखेर मुलुकभर महिला उद्यमशीलताको अभियानलाई तिव्रता दिई आर्थिक सुनिश्चितता प्रदान गर्न आवश्यक भएकाले यस अभियानमा दातृ निकायहरुबाट सहयोगका लागि आग्रह गर्नुभयो ।