निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको ४६ औं वार्षिक साधारण सभा भोली चैत्र २४ गते काठमाडौंमा आयोजना हुंदैछ । सम्माननीय प्रधानमन्त्रीद्वारा समुद्घाटन हुने यसपालीको साधारण सभाको मुख्य नारा “सम्पन्न नेपाल र नेपालीको समृद्धि, लगानी वृद्धि अनि रोजगारीको अभिवृद्धि” रहेको छ ।
विशेषत लगानी प्रवर्द्धन र रोजगारीका अवसरहरुको सृजनालाई केन्द्र विन्दुमा राखेर गर्न लागिएको यो साधारण सभाले महासंघको गत १ वर्षको क्रियाकलापहरुको समिक्षा गर्नुका साथै महासंघका आगामी दिनहरुका रणनीतिका वारेमा वृहद छलफल गरी महासंघलाई मार्गनिर्देशन गर्नेछ । महासंघको चुनाव नहुने वर्ष भएकाले रणनीति निर्माण तथा विषय वस्तुको गहन छलफल हुने यो साधारण सभाको आफ्नै महत्व छ ।
यस वर्षको साधारण सभामा निजी क्षेत्रको नेतृत्वदायी भूमिका सहितको आर्थिक विकासको साझा एजेण्डाको मस्यौदाको प्रस्तुती र छलफललाई विशेष विषय बनाइने छ । यस विषयमा उद्घाटन सत्रमानै महासंघका अध्यक्षबाट विशेष प्रस्तुती हुने छ । साधारण सभाको उद्घाटन समारोहमा महासंघका करिव सातसय सदस्यका साथै नेपाल सरकारका मन्त्रीगण, उच्चपदस्थ सरकारी अधिकारीहरु, महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, प्रतिष्ठित उद्यमी व्यवसायीहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु, दातृ निकायका पदाधिकारीहरु लगायतको उपस्थिति रहने छ ।
समारोहमा भारतीय उद्योग परिसंघका (Confederation of Indian Industry - CII) का अध्यक्ष बी मथुरमन (B. Muthuraman) लाई विशिष्ट अतिथि वक्ताका रुपमा निम्त्याइएको छ । उहांले मुलुकको अर्थतन्त्रको रुपान्तरणका सम्बन्धमा भारतीय अनुभवका वारेमा जानकारी दिनुहुनेछ । समारोहमा गत वर्ष आ-आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्ने महासंघका सदस्यहरुलाई कदर सम्मान गरिने कार्यक्रम छ ।
महासंघको साधारण सभामा नियमित गर्नुपर्ने वार्षिक प्रतिवेदन र वासलात पेश गरिनुका साथै समसामयिक विषयमा छलफल समेत हुनेछ । यो वर्ष साधारण सभा पूर्वनै महासंघका सदस्यहरुको आआफनो समूहको छलफलको कार्यक्रम तय गरिएको छ । छलफलमा सदस्यहरुको संस्थागत विकासका साथै मुलुकको वर्तमान आर्थिक परिस्थिति र उद्योग व्यवसायका मूलभूत समस्या वारे छलफल हुने अपेक्षा महासंघले गरेको छ । विशेषत लगानी वृद्धि र रोजगारी अभिवृद्धिलाई केन्द्र विन्दूमा राखेर गरिने सो छलफल उर्जा संकट, श्रम लचकता, वित्तिय श्रोतमा पहुंच र उद्यमशिलताको विकास आदिमा केन्द्रित हुने महासंघको अपेक्षा छ ।