नेपाल उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंमा आयोजित नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन आएको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनीयाँ परिषद् सिचुवान (China Council for Promotion of International Trade-CCPIT, Sichuan Council) को व्यावसायिक प्रतिनिधिमण्डल तथा नेपाली उद्यमी व्यवसायी बीच आज महासंघ सचिवालयमा व्यावसायिक भेटवार्ता सम्पन्न भयो ।
व्यावसायिक भेटवार्तामा महासंघको तर्फबाट अध्यक्ष सुरज वैद्य र चिनीयाँ तर्फबाट सीसीपीआइटी सिचुवान प्रान्तका अध्यक्ष ली काङ (Li Gang, President, CCPIT Sichuan Council) ले नेतृत्व गर्नुभयो ।
महासंघका अध्यक्ष वैद्य, सीसीपीआइटी सिचुवान परिषदका अध्यक्ष ली काङ, महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र नेपालस्थित चिनियाँ राजदुतावासका आर्थिक तथा वाणिज्य काउन्सिलर ती रोङ (Di Rong, Economic and Commercial Counsellor, Embassy of the People's Republic of China) सहितले सम्बोधन गर्नु भएको सो भेटघाटमा नेपालमा चिनीयाँ लगानी विस्तार, नेपाल र सिचुवान प्रान्त बीचको आर्थिक व्यवसायिक सम्भाव्यता, नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा चिनको सहभागिता, लगानीका क्षेत्रहरु, नेपाल लगानी वर्ष २०१२-१३, लुम्बिनी भ्रमण वर्ष, उर्जा, आर्थिक सम्बन्ध विस्तारका क्रममा आवश्यक सूचना तथा व्यवसायिक भ्रमणको आदान प्रदान लगायतमा छलफल भयो ।
औपचारिक भेटवार्ता पश्चात आयोजित बी टु बी बैठकमा दुवै देशका व्यवसायीहरुको सहभागिता रह्यो । सो अवसरमा उर्जा, कृषि, तयारी पोशाक, विद्युत तथा विद्युतीय सामग्री, औषधि, सेवा क्षेत्र, अटोमोवाइल, भवन निर्माण, व्यापार शीर्षकमा छुट्टाछुट्टै आपसी भेटवार्ता समेत सम्पन्न भयो ।