नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष जस्तै यसवर्ष पनि भोली चैत्र २८ का दिन एक विशेष समारोह बीच उद्योग वाणिज्य दिवस-२०६८ मनाइंदैछ । २०२२ सालमा स्थापित नेपाली उद्योगी व्यसायीहरुको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारमा विधिवत दर्ता भएको दिन अर्थात चैत्र २८ लाई २०५६ सालदेखि उद्योग वाणिज्य दिवसको रुपमा मनाउंदै आएको छ ।
महासंघको सदस्य ललितपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा हुने उद्योग वाणिज्य दिवस कार्यक्रमका अवसरमा भोली विहान साँढे ६ बजे, पुल्चोक, लतिपुरबाट प्रभात फेरी कार्यक्रम शान्ति पदयात्राबाट कार्यक्रम शुरु हुनेछ ।
शान्ति पदयात्रामा महासंघबाट निम्त्याइएका पाहुनाहरु, महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, कार्यकारिणी समिति सदस्यहरु, महासंघका सदस्य संघ/संस्थाका प्रतिनिधिहरु, सम्पूर्ण उद्यमी व्यवसायीहरु, सर्वसाधारण जनताहरु, संचारकर्मीहरुको सहभागिता रहने छ ।
त्यसैगरी साँझ ४ बजे संविधानसभाका अध्यक्ष सम्माननीय सुवाषचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा दिवसको समुद्घाटन कार्यक्रम हुनेछ । समुद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत विकास तथा विस्तारमा अग्रणी भूमिका निभाई विशेष योगदान पुर्याउनु हुने महासंघका पूर्व अध्यक्षहरुलाई विशेष कदर स्वरुप सम्मान गर्ने कार्यक्रम छ ।
त्यसैगरी महासंघको संस्थागत विकास तथा विस्तारमा अग्रणी भूमिका निभाई विशेष योगदान पुर्याएका महासंघका संस्थापक सदस्यहरुलाई समेत कदर स्वरुप सम्मान गर्ने कार्यक्रम छ ।
उद्योगी व्यवसायीहरुले आफ्नो उचित पहिचान खोजि राख्नु पर्ने अवस्थाबाट आफ्नो पेशालाई मर्यादित बनाउन र उद्योग वाणिज्य क्षेत्रको योगदानको विशेष पहिचानका लागि खास “दिवस” को रुपमा मनाउने उद्देश्य अनुरुप महासंघको स्थापनाका दिन यो दिवस मनाउन लागिएको हो । नेपाल सरकारले पनि यस दिनलाई विधिवत मान्यता प्रदान गरिसकेको छ ।