भारतबाट विद्युत आयात हुने ट्रान्समिशन लाईन मर्मत कार्य भैरहेको र त्यसबाट लोडसेडिङ बढ्न गई सुनसरी मोरङ करिडोरका उद्योग व्यवसाय संचालनमा समस्या आइरहेको अवस्थामा नेपाल आयल निगमबाट त्यसक्षेत्रका उद्योगधन्दालाई डिजेल उपलव्ध नगराउँदा उत्पन्न परिस्थितिप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
त्यसक्षेत्रका उद्योगधन्दाहरुले हाल दैनिक १६ देखि १८ घण्टाको लोडसेडिङबाट करोडौंको क्षति व्यहोर्नु परिरहेको अवस्थामा वैकल्पिक उपायहरु अपनाएर भएपनि उद्योग धन्दाहरुलाई सहज र सरल रुपमा डिजल उपलव्ध गराउनु पर्नेमा यसतर्फ कुनै ठोस कार्य नहुनु चिन्ताको विषय हो । समस्याको तत्काल सम्वोधन हुन नसके सरकारको राजस्व असुली, रोजगारी र समग्र आर्थिक क्रियाकलापमानै प्रतिकुल प्रभाव पर्न जानेतर्फ महासंघ सम्बन्धित सवैमा अनुरोध गर्दछ ।
समस्यालाई समयमै सम्वोधन नगरिए त्यसक्षेत्रका उद्योगधन्दाहरु बन्द हुने खतरा बढ्दै गएकाले त्यस्तो अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराउंदै कुन उपायबाट त्यसक्षेत्रमा विद्युत तथा डिजेलको सहज आपूर्तिको व्यवस्था गर्न सकिन्छ, उद्योगधन्दा बचाउन सकिन्छ त्यसतर्फ शीघ्र पहल हुन महासंघ नेपाल सरकार समक्ष हार्दिक आग्रह गर्दछ । साथै महासंघ सरकार समक्ष नेपाल आयल निगमको तेल आपूर्ति क्षमता बढाई उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मात्रामा आपूर्ति गरी उद्योग संचालन गर्ने कार्यमा सघाउ पुर्याउन महासंघ आग्रह गर्दछ ।