नेपाली उद्यमी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघद्वारा अमेरिकी विदेश मन्त्रालयको वाणिज्य तथा व्यापार मामिलाका लागि विशेष प्रतिनिधि लोरेन ह्यारिटोन (Lorraine Hariton, the State Department’s Special Representative for Commercial and Business Affairs-CBA) को नेतृत्वमा नेपाल भ्रमणमा आएको अमेरिकी प्रतिनिधिमण्डलको सहभागितामा नेपालमा उद्यमशिलता विकास विषयमा आज महासंघ सचिवालयमा एक छलफल कार्यक्रमको आयोजना गरियो ।
नेपालमा उद्यमशिलता एवं व्यवसाय विकासका विषयमा नेपाल सरकार तथा निजी क्षेत्रसंग छलफल गर्ने उद्देश्यले पाँच दिने भ्रमणका लागि गत शुक्रवार काठमाडौं आएको अमेरिकी प्रतिनिधिमण्डलसंग भएको अन्तरक्रिया कार्यक्रममा उद्यमशिलता विकासमा नेपाली निजी क्षेत्रको भूमिका तथा सहकार्यको सम्भाव्यता तथा उद्यमशिलता विकासका सफल मोडलहरुका विषयमा छलफल गरिनुको साथै नेपालमा उद्यमशिलता विकासका लागि सहकार्य गर्न सहमती समेत भएको छ ।
अन्तरक्रिया कार्यक्रममा अमेरिकी प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले नेपालको राजनीति सही दिशातर्फ अग्रसर भैरहेको र राजनीतिक दलहरु समयमै संविधान निर्माणका लागि गम्भीर गृहकार्यमा रहेकाले समयमै नयां संविधान जारी भई मुलुक आर्थिक विकासको मार्गमा जानेमा नेपाली निजी क्षेत्र विश्वस्त रहेको बताउनु भयो ।
अध्यक्ष वैद्यले महासंघले आफ्नो संगठित संरचना मार्फत नेपाल सरकार, दातृ निकायहरुसंग समेत सहकार्य गरी रोजगारी सृजनाका माध्यमबाट स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र त्यसको प्रभाव निकै सकारात्मक रहेको बताउनु भयो । अध्यक्ष वैद्यले महासंघले अगाडी बढाएका कार्यक्रमहरुलाई अझ बढी प्रभावकारी बनाउन थप पूँजी, प्रविधि र नयाँ सोंचको आवश्यकता रहेकाले अन्तराष्ट्रिय सहकार्यको सम्भाव्यता औल्याउनु भयो ।
बैठकलाई सम्वोधन गर्नुहुंदै विशेष प्रतिनिधि लोरेन हेरिटोन (Lorraine Hariton) ले नेपाल सरकार तथा निजी क्षेत्रसंगको भेटघाटमा आफूले निकै जानकारी हासिल गरेको अनुभव राख्दै मुलुकभित्र व्यापक रुपमा उद्यमशिलताको चेतना जगाई जानसकेमा मात्र दीगो आर्थिक विकास हुन सक्ने धारणा राख्नु भयो । यसका लागि यूवाहरुको अधिक परिचालनमा समेत उहांले जोड दिनु भयो । निजी क्षेत्रको प्रतिनिधि संस्था महासंघले आफ्नो बलियो संजाल मार्फत उद्यमशिलता विकासमा खेलेको भूमिका प्रति आफू अत्यन्त उत्साहित भएको उहांले बताउनु भयो । उद्यमशिलता विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने पनि उहांले विश्वास दिलाउनु भयो । उद्यमी पहिचान, उपयुक्त वातावरण, सही नीति तथा कानून एवं वजार पहुंचबाट मात्र उद्यमशिलता विकासमा सघाउ पुग्ने उहांको धारणा थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष भवानी राणा, महिला उद्यमी विकास समितिका सभापति एवं महिला उद्यमी महासंघ नेपालका अध्यक्ष छायां शर्मा, नेपाली यूवा उद्यमी मंचका अध्यक्ष अनुजकुमार श्रेष्ठ, गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने लगायतले बोल्नु भएको थियो ।
बैठक पश्चात उद्यमशिलता विकासमा सहकार्य गर्ने उद्देश्यले महासंघ र टाई ग्लोवल (TiE-Global) बीच एक समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारी अनुसार महासंघ र टाई बीच आपसी सहकार्यका माध्यमबाट तालीम संचालन, अनुभव आदान प्रदान, उद्यमशिलता विकास मार्फत रोजगारी सृजना गरी नेपाली अर्थतन्त्रको विकासमा सहकार्य गर्ने छन् । समझदारीपत्रमा महासंघका तर्फबाट अध्यक्ष वैद्य र टाईका तर्फबाट चार्टर मेम्बर निकेश सिन्हा (Nikesh Sinha, Charter Member-TiE) ले हस्ताक्षर गर्नुभयो ।
आफ्ना साँढे ६ सय भन्दा बढी सदस्य मार्फत मुलुकभर सेवा पुर्याइरहेको महासंघ र विश्वभर आफ्ना ५७ भन्दा बढी शाखा मार्फत उद्यमशिलता विकासमा कार्य गर्दै आएको सफल उद्यमीहरुको संस्था टाई बीच सम्पन्न सहमती अनुसार टाईले नेपालमा उद्यमशिलताको विकासमा सफल मोडलहरुको कार्यान्वयन, अनुभव आदानप्रदान, संजाल विस्तार, जनचेतना अभिवृद्धि, लगानी आकर्षण, वौद्धिक सम्पत्तिको जगेर्ना, रोजगारी सृजना तथा रोजगारीका लागि वातावरण निर्माण, नेपाली उद्यमीहरुलाई टाईको अन्तराष्ट्रिय संजालमा आवद्ध गराउने कार्यमा सहयोग गर्ने छन् ।
For more photographs, please click here