नयां संविधान जारी गर्ने दिन अर्थात जेष्ठ १४ गते नजिकिंदै जाँदा संघीयता लगायत विभिन्न मागहरु राखी विभिन्न जातजाती, वर्ग, समूहका नाउंबाट आव्हान गरिएका अन्दोलन, बन्द हड्ताल र त्यसबाट विकसित पछिल्ला घटनाक्रमका सम्बन्धमा महासंघ गम्भीर चिन्ता व्यक्त गर्दछ । संविधान जारी गर्नु पूर्व भएका यस्ता बन्द हड्तालजस्ता गतिविधिबाट जनताको वर्षौको अपेक्षालाई पुरा गर्ने भन्दा पनि जनताको अपेक्षामाथि कुठाराघात हुने विश्लेषण गर्दै महासंघ यस्ता गतिविधिको निन्दा एवं भत्सर्ना गर्दछ ।
बन्दको क्रममा उपत्यका लगायत विभिन्न स्थानहरुमा प्रेस, एम्वुलेन्स तथा निजी सवारी साधनहरु माथि भएको आक्रमणको महासंघ निन्दा गर्दछ । आफ्नो सम्पतिको सुरक्षा नागरिकको नैसर्गिक अधिकार हो र यसको रक्षा गर्न सवैमा विनम्रता पूर्वक अनुरोध गर्दछौ । साथै आफ्ना मागहरु पुरा गर्ने विधिसम्मत अरु तरिकाहरु अपनाउन बन्द आयोजकलाई आग्रह समेत गर्दछौं । नेपालका राजनीतिक दल र यीनका भातृ संस्थाहरु एवं विभिन्न समूहले आफ्ना मागहरु पुरा गर्ने नाउंमा जनतालाई दु:ख दिने बन्द हड्ताल जस्तो अत्यन्त गैरजिम्मेवार कार्यक्रमको सहारा लिएको पाउंदा निजी क्षेत्र अत्यन्त दु:खित भएको छ । बन्द आयोजनाबाट के उपलव्धी भयो त्यसको जानकारी आम जनतामा दिन सवै बन्दकर्ताहरुलाई हामी चुनौती दिन चाहान्छौं ।
लोकतन्त्रमा बिभिन्न समूह र तप्काले आफ्नो माग राख्नु स्वाभाविक हो तर बन्द नै आफ्नो माग पुरा गराउने माध्यम हुनु हुंदैन भन्ने मान्यता हाम्रो छ । बन्दको कारण नागरिकको पेशा व्यबसाय र श्रम गरी बांच्न पाउने अधिकारको हनन हुन गएको छ र यो लोकतान्त्रिक मूल्य मान्यता र विधि विपरित हो भन्ने मान्यता यस महासंघको छ । तसर्थ मुलुकलाई नै क्षतविक्षत पार्ने र पौने ३ करोड नेपाली जनताको भविष्यनै अन्धकार पार्ने यस्ता बन्द हड्तालका कार्यक्रम आयोजना नगर्न र वार्ताद्धारा समस्याको निकास खोज्न सम्बन्धित सबै पक्षको महासंघ ध्यानाकर्षण गराउंदछ ।
सुदूरपश्चिम लगातार बन्द भएको एक महिना पुग्न लागिसक्यो भने पूर्व र तराईका अधिकांश भागहरु हप्तौदेखि बन्दको चपेटामा छन् । बन्दका कारण राष्ट्रले दैनिक अर्वौको नोक्सानी व्यहोर्नु परेको छ । यसले एकातर्फ आमजनताले दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुहरुको अभाव खडा हुनेस्थित आइसकेको छ भने अर्कोतर्फ उद्योग व्यवसाय बन्द हुंदा बैकलाई तिर्नुपर्ने ऋणको साँवा व्याज, कर राजश्व एवं अन्य खर्चको भार खेप्नु पर्दा उद्योग व्यवसाय उठ्नै नसकिने गरी भासिन थालेका छन् ।
अत: यस्तो कहाली लाग्दो स्थितिमा मुलुकभित्र उद्योग व्यवसायलाई निर्वाध रुपमा सुसंचालन गर्ने तथा अत्यावश्यक वस्तुहरुको निर्वाध वितरण गर्न सक्ने प्रत्याभुति दिन सरकार, राजनीतिक दल तथा सम्बन्धित निकाय समक्ष गम्भीरतापूर्वक आग्रह गर्दै यस्तो जटिल परिस्थितिमा बन्द हड्तालका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिन सम्बन्धित सवैमा महासंघ गम्भिर अपिल समेत गर्दछ ।