नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार तथा इरानी राष्ट्रपतिका विशेषदूत अहमद सोभानी (AHMAD SOBHANI) को नेतृत्वमा आएको तीन सदस्यीय इरानी प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षीय व्यवसायिक भेटवार्ता सम्पन्न भयो ।
भेटका अवसरमा इरानी प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष राजकणिकारले नेपालमा इरानी लगानी आकर्षणका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहांले नेपाल सरकार तथा महासंघको सहकार्यमा सन् २०१२–१३ लाई नेपाल लगानी वर्षको रुपमा मनाउने निर्णय गरिसकेकाले जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा इरानी लगानीका लागि आग्रह गर्नुभयो ।
भारतका लागि इरानी राजदुत सैयद मेहिदी नविजादे (Seyed Mehdi Nabizadeh, Ambassador, The Islamic Republic of Iran to India) समेत सहभागी हुनु भएको सो भेटवार्तामा इरानी राष्ट्रपतिका विशेष दूत सोभानीले नेपाल इरान बीच द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि छिट्टै इरानमा नेपाली व्यवसायिक प्रतिधिमण्डल ल्याउन महासंघलाई आग्रह गर्नुहुंदै आफूले इरानी उद्योग वाणिज्य महासंघसंग सम्बन्ध विस्तारका लागि सहयोग गर्ने, इरानले पूर्वाधार निर्माण तथा प्रविधि विकासमा गरेको सफलता नेपालको विकासमा समेत उपयोग गर्न सहयोग गर्ने विश्वास दिलाउनु
भयो ।
उक्त भेटवार्तामा महासंघको कार्यकारिणी समितिका सदस्यहरु एजी शेर्पा, शंकर प्रसाद पाण्डे, महानिर्देशक हेमन्त दवाडीको सहभागिता थियो ।