शान्ति सद्भाव र समृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासंंघद्वारा विभिन्न संघ/संस्थाहरुको सहभागितामा आज काठमाडौंमा आयोजित राष्ट्रिय सद्भाव सभालाई पूर्ण रुपमा सफल पार्न सहयोग पुऱ्याउने महासंघका सवै सदस्य संघ संस्थाहरु, सम्पूर्ण उद्यमी व्यवसायीहरु, नागरिक समाज, विभिन्न संघ संस्थाहरुप्रति महासंघले हार्दिक आभार सहित धन्यवाद प्रकट गरेको छ ।
नेपाल चेम्वर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, हिसान, प्याव्सन, एन प्याव्सन, नेपाल पत्रकार महासंघ, मिडिया सोसाइटी, टेलिभिजन वोडकाष्टर्ड नेपाल, नेपाल वार एशोसिएशन, होटल एशोसिएशन अफ नेपाल, नेपाल मानव अधिकार संघ, नेपाल मानव अधिकार संगठन लगायत दर्जनौं संघ संस्थाको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा आम नागरिकहरु, विभिन्न पेशा व्यवसायमा आवद्ध प्रवुद्ध व्यक्तित्वहरु, संचार कर्मीहरु, कलाकारहरु, उद्यमी व्यवसायीहरु समेत गरी १० औं हजारको उत्साहपूर्ण सहभागिताबाट मुलुकभित्र शान्ति सद्भाव र समृद्धिका लागि अगाडी बढ्ने महासंघको अभियानमा ठूलो हौसला प्राप्त भएको छ । आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास महासंघले लिएको छ ।
शान्ति सद्भाव र समृद्धिका लागि आयोजित शान्ति सद्भाव सभाको प्रारम्भमा महासघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नुभयो ।
काठमाडौंको दरवारमार्गमा आयोजित सभामा सहभागीहरुले राष्ट्रिय झण्डाका साथ "बन्दलाई बन्द गरौं", "समयमा संविधान देऊ", "शान्ति, सद्भाव र समृद्धि", "राष्ट्रिय एकता र सद्भाव कायम" गरौं जस्ता नारा अंकित व्यानरहरु वोकेका थिए भने नेपालका प्रशिद्ध कलाकार एवं सांगितिक समूहरुबाट राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गीतहरु प्रस्तुत गरिएको थियो ।
सभा पश्चात सहभागीहरुबाट शान्ति र सद्भावको कामना सहित द्विप प्रज्वलन समेत गरिएको थियो ।
For the photographs please click here