नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शुशिल कोइरालासंग आज भेट गरी अहिलेको संक्रमणकालिन अवस्थामा मुलुकको अर्थतन्त्रलाई जोगाउन आग्रह गर्यो ।
महासंघका विशिष्ट सदस्य एव पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु प्रदिपजंग पाण्डे, पशुपति मुरारका कार्यकारिणी समिति सदस्यहरु, जिल्ला/नगर उवासंघ, वस्तुगत संघका प्रतिनिधिहरु र उद्योगी व्यवसायीहरु सहभागी रहनुभएको सो प्रतिनिधिमण्डलका तर्फवाट महासंघका अध्यक्ष वैद्यले मुलुकको अहिलेको अवस्थाप्रति निजी क्षेत्र अत्यन्त चिन्तित रहेकाले मुख्य राजनीतिक दलहरु बीच सहमती कायम गरी मुलुकलाई छिटो निकास दिन आग्रह गर्नु भयो ।
अध्यक्ष वैद्यले जीर्ण रहेको अर्थतन्त्रलाई अझ जीर्ण पार्ने कार्य कहि कतैबाट पनि हुन नहुने, बन्द हडताल सदाका लागि बन्द गरी आम जनतामा गरिखान पाउने वातावरणको सुनिश्चितता हुनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा महासंघको प्रतिनिधिमण्डललाई सम्बोधन गर्नु हुंदै नेपाली कांग्रेसका सभापति कोइरालाले अहिलेको वस्तुस्थिति प्रति आफनो पार्टी पनि चिन्तित रहेको, मुलुकभित्र आर्थिक वातावरण विग्रन नदिन र अर्थतन्त्रलाई निरन्तर अगाडि बढन दिने कार्यमा कांग्रेसका तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाउनु भयो ।