नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य छाला जुत्ता तथा बस्तु उत्पादक संघ नेपालबाट सिरहा जिल्लाको सुव्वा औरही गाविसका अग्नी पिडीतहरुको सहयोगार्थ संकलित नगद तथा लत्ता कपडा सो संघले आज महासंघलाई हस्तान्तरण गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष भवानी राणालाई सो संघका अध्यक्ष होमनाथ उपाध्यायले संघका सदस्यहरुबाट संकलित रु. २५,०००/-(पच्चिस हजार) नगद र एक लाख मुल्य वरावरको लत्ताकपडा तथा जुत्ताचप्पल महासंघ सचिवालयमा हस्तान्तरण गर्नुभयो । राहत हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, कार्यकारिणी समिति सदस्य किशोर प्रधान र सो संघका पदाधिकारी एवं सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलको उपस्थिति थियो ।
सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष राणा र उपाध्यक्ष पाण्डेले विपत्तिमा परेका परिवारहरुलाई राहत संकलन गरी सहयोग पुर्याएकोमा संघलाई धन्यवाद दिंदै राहत सामग्री यथाशीघ्र पिडीतहरु समक्ष पुर्याइने प्रतिवद्धता जनाउनु भयो ।
स्मरणीय छ, सिराहाका अग्नि पिडीतहरुको सहयोगार्थ महासंघद्वारा यसअघि नगद तथा लत्ता कपडा समेत गरी जम्मा ८ लाख मुल्य वरावरको राहत सामग्री पिडीत परिवारमा वितरण गरीसकेको छ भने महासंघका सदस्यहरुले पनि सो कार्यमा सहयोग गरिरहेका छन् ।