नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष भाष्करराज राजकर्णिकार, महासंघका पदाधिकारी र नेपालका लागि दक्षिण अफ्रिकी राजदुत जीओफ्री डोइड्ज (Geoffrey Doidge, Ambassador of South Africa to Nepal) तथा दक्षिण अफ्रिकी सरकारको अन्तराष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका राजदुत डा. अनिल सुकलाल (Ambassador, Dr. Anil Sooklal, DDG of Department of International Relations and Cooperation of South Africa) सहितको उच्चस्तरीय प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा दुई देश बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका विषयमा भेटवार्ता भयो ।
महासंघका उपाध्यक्ष भवानी राणा, महासंघका पूर्व अध्यक्ष एंव नेपालका लागि दक्षिण अफ्रिकाका वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठ, दक्षिण अफ्रिकी सरकारको अन्तराष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका उपनिर्देशक जोहानेस हेमम्यान (Deputy Director of International Relations and Cooperation of South Africa Mr. Johannes Hamman), महासंघको कार्यकारिणी समितिका सदस्यहरु जगदिश प्रसाद राठी, छायाँ शर्मा, शंकर प्रसाद पाण्डे, एजी शेर्पा, महानिर्देशक डा हेमन्त दवाडी सहभागी रहनु भएको सो भेटवार्तामा नेपालमा लगानीको सम्भाव्यता, नेपालको अन्तर्राष्ट्रिय बजार, नेपाल र दक्षिण अफ्रिका बीचको आयात निर्यात व्यापारको अवस्था, संयुक्त लगानीको सम्भाव्यता आदिका सम्बन्धमा छलफल भयो ।
सो अवसरमा राजदुत डोइड्जको स्वागत गर्नु हुदै महासंघका कार्यवहाक अध्यक्ष राजकर्णिकारले नेपालका लागि यतिखेर वाह्य लगानी, प्रविधि तथा अनुभवको आवश्यकता रहेकाले नेपालको विकास प्रयासमा सहयोग गर्न दक्षिण अफ्रिकाको उच्चस्तरीय प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो । लगानीको वातावरण अनुकुल रहेको र नेपालमा उत्पादन भएका सामानहरु दुई ठूला अर्थतन्त्र भएका भारत र चीनको बजारमा सहज रुपमा जान सक्ने भएकाले नेपालमा निर्धक्क भएर लगानी गर्न सकिने स्पष्ट पार्नुभयो ।
साथै उहाले वाह्रय लगानी आकर्षणका लागि सरकार प्रतिवद्ध रहेको र सरकारी नीति पनि लगानी मैत्री रहेको स्पष्ट पार्दै नेपालमा लगानीका लागि प्रतिस्पर्धी क्षेत्रका रुपमा पहिचान गरिएका पूर्वाधार विकास, पर्यटन, जलविद्युत, सूचना प्रविधि, कृषि प्रशोधन, खनिजजन्य उद्योगमा लगानीका लागि अग्रह गर्नु भयो ।
भेटवार्तामा राजदुत डोइड्जले महासंघसंगको छलफलका क्रममा आएका सुझावहरुलाई आफुहरुले निकै महत्त्वपूर्ण रुपले लिएको बताउदै अत्यन्त न्यून रहेको आयात निर्यात व्यापारलाई कसरी वढोत्तरी गर्न सकिन्छ त्यसमा दुवै देशका निजी क्षेत्र सहकार्यमा जुटनु पर्नेमा जोडदिनु भयो । सो क्रममा राजदुत डोइड्जले महासंघको नेतृत्वमा नेपाली व्यवसायी प्रतिनिधिमण्डललाई दक्षिण अफ्रिका भ्रमणको निम्तो पनि दिनु भयो । साथै दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलले दुई देश बीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि नेपाली निजी क्षेत्रसंग नजिकमा रहेर कार्य गर्ने विश्वास समेत दिलाउनु भयो ।
उहाँले नेपालमा खनिजजन्य उद्योग र कृषि प्रशोधनका क्षेत्रमा दक्षिण अफ्रिकासँग सहकार्यको सम्भाव्यता औल्याउनु भयो । राजदुत जेफरी डोइड्जले दुवै देशका सरकार बीच आपसी हितका विषयमा निरन्तर भेटघाट, बैठकमा समेत जोड दिनु भयो ।