प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा भेटगरी निर्धारित समयमै बजेट निर्माण तथा न्यूनतम साझा आर्थिक एजेण्डाका विषयमा भेटवार्ता गर्यो । सो अवसरमा प्रधानमन्त्री समक्ष अध्यक्ष वैद्यले महासंघका तर्फबाट तयार पारिएको मुलुकको आर्थिक विकासका लागि न्यूनतम साझा आर्थिक एजेण्डा समेत प्रस्तुत गर्नुभयो ।
महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु प्रदीपजंग पाण्डे तथा पशुपति मुरारका र कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु समेत सम्मिलित सो प्रतिनिधिमण्डलका तर्फबाट महासंघका अध्यक्ष वैद्यले निर्धारित समयमै राष्ट्रिय सहमतीका साथ बजेट ल्याइनु पर्ने, निजी क्षेत्रका तर्फबाट महासंघले अघि सारेको न्यूनतम साझा आर्थिक एजेण्डालाई कार्यान्वयनमा लैजान सहयोग गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।
अध्यक्ष बैद्यले मुलुकलाई थेग्ने भनेकै उद्योग व्यवसाय क्षेत्र भएकाले जस्तो सुकै राजनीतिक अस्थिरताका बीच पनि अर्थतन्त्रलाई निर्वाध रुपमा अगाडी बढ्ने वातावरण बनाई दिन आग्रह गर्नुभयो । आर्थिक स्थायित्व नभएसम्म राजनीतिक स्थायित्व नहुने स्पष्ट पार्नुहुंदै अध्यक्ष वैद्यले अहिलेको जटिलस्थितिमा जति सक्दो छिटो राजनीतिक सहमती कायम गरी मुलुकलाई निकास दिनु पर्नेमा जोड दिनु भयो । विना उपलव्धी संविधान सभा विघटन भएपछि निजी क्षेत्र अत्यन्त दु:खित भएको स्मरण गराउंदै अध्यक्ष वैद्यले भन्नु भयो - अव मुलुकलाई थप क्षतिहुनबाट जोगाउने हो भने निजी क्षेत्रले उठान गरेका आर्थिक मुद्दाहरुमा तत्काल न्यूनतम साझा सहमती कायम हुनै पर्छ ।
प्रधानमन्त्री समक्ष निजी क्षेत्रले उठान गरेका आर्थिक मुद्दाहरुलाई सम्वोधन गर्न छुट्टै संयन्त्र निर्माणको लागि समेत भेटघाटमा जोड दिइयो । यस्तो संयन्त्र सरकारका तर्फबाट निर्माण गरियोस जसले मुलुकका प्रमुख आर्थिक मुद्दाहरुमा निजी क्षेत्र सहित सवै सरोकार निकायहरुसंग बसेर त्यस उपर गम्भीर छलफल गरी त्यसलाई टुंंगोमा पुर्याउन सकोस् ।
सो अवसरमा प्रधानमन्त्री डा. भट्टराईले मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउने आफ्नो पनि लक्ष्य र अभियान रहेको स्पष्ट पार्दै सरकारले सवै राजनीतिक दलहरुको सहमतीमा निर्धारित समयमै बजेट ल्याउनेमा ढुक्क रहन आग्रह गर्नुभयो । अर्थतन्त्रलाई कुनै पनि प्रकारको राजनीतिक प्रभावबाट मुक्त राख्नु पर्नेमा आफनो पनि जोड रहेको बताउनु हुदै प्रधानमन्त्रीले यसका लागि आवश्यक वातावरण बनाउने कार्यमा आफूबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो ।
प्रधानमन्त्रीले निजी क्षेत्रको तर्फबाट राष्ट्रिय सहमती निर्माणका लागि भएको प्रयासको सराहना समेत गर्नुभयो । मुलुकको आर्थिक विकासका लागि महासंघले तय गरेका प्राथमिकता प्राप्त क्षेत्रहरुका विषयमा अध्ययन गरी त्यसलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोग हुने स्पष्ट पार्दै निजी क्षेत्रबाट उठान भएको आर्थिक मुद्दाहरुलाई सम्वोधन गर्ने छुट्टै संयन्त्र निर्माण गर्ने सम्बन्धमा सरोकारवालाहरुसंग वसेर छिट्टै अन्तिमरुप दिने विश्वास दिलाउनु भयो ।
आजै महासंघका अध्यक्ष वैद्यको नेतृत्वमा महासंघका पदाधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई उहांको निवास महाराजगंजमा भेटगरी राष्ट्रिय बजेट निर्माणमा राजनीतिक सहमती तथा निजी क्षेत्रले अघि सारेको आर्थिक मुद्दाहरुमा न्यूनतम आर्थिक साझा सहमतीका लागि आग्रह गर्यो । राजनीतिक रुपमा मुलुक अत्यन्त जटिलता तर्फ उन्मुख भैरहेको अवस्थामा यस बीचमा महासंंघले राष्ट्रिय सहमती निर्माणका लागि निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।