नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालसंग आज विहान उहांको निवास डल्लुमा भेटगरी निर्धारित समयमा सहमतीको बजेट निर्माण तथा निजी क्षेत्रले अघि सारेको आर्थिक मुद्दाहरुमा न्यूनतम आर्थिक साझा सहमतीका लागि आग्रह गर्यो । सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले चाँडोभन्दा चाँडो राजनीतिक सहमती कायम गरी पूर्ण आकारको बजेट ल्याउने वातावरणका लागि आग्रह समेत गर्यो ।
महासंघका उपाध्यक्षहरु प्रदीपजंग पाण्डे तथा पशुपति मुरारका, पूर्व उपाध्यक्षहरु दिवाकर गोल्छा तथा रोहिणी थपलिया र कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु समेत सहभागि रहनु भएको सो प्रतिनिधिमण्डलका तर्फबाट महासंघका अध्यक्ष वैद्यले निर्धारित समयमै राष्ट्रिय बजेट ल्याउन राजनीतिक सहमतीका लागि आग्रह गर्नुका साथै निजी क्षेत्रका तर्फबाट महासंघले तयार पारेको न्यूनतम साझा आर्थिक एजेण्डाका विषयमा जानकारी गरायो ।
महासंघका अध्यक्ष बैद्यले राजनीतिक सहमतीका साथ अर्थतन्त्रलाई निर्वाधरुपमा अगाडी बढ्ने वातावरण बनाई दिन आग्रह समेत गर्नुभयो । संविधान विघटन भएपछि निजी क्षेत्रमा अन्यौलता छाएको स्पष्ट पार्नुहुंदै अध्यक्ष वैद्यले अव मुलुकलाई थप क्षतिहुनबाट जोगाउन राजनीतिक दलहरुका तर्फबाट निजी क्षेत्रले उठान गरेका आर्थिक मुद्दाहरुमा न्यूनतम साझा सहमती कायम हुनै पर्छ ।
सो अवसरमा एमालेका अध्यक्ष खनालले मुलुकको आर्थिक संवदेनशीलता प्रति आफनो पार्टी पनि त्यत्तिकै चिन्तित रहेको स्पष्ट पार्दै निजी क्षेत्रको संघीय प्रतिनिधिमुलुक संस्था महासंघले राजनीतिक सहमतीका लागि गरेको प्रयासको सराहना गर्नुभयो । एमाले अध्यक्ष खनालले यतिखेर दलहरु बीच सहमतीको विकल्प नभएको बताउंदै बजेट समयमै ल्याउनु पर्नेमा विमती नभएको तर त्यसका लागि सहमतीको वातावरण सरकारले बनाउनु पर्ने स्पष्ट धारणा राख्नु भयो । मुलुकभित्र निर्वाध उद्योग व्यवसाय संचालन गर्ने कार्यमा आफनो पार्टीका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो ।
महासंघले यस बीचमा राष्ट्रिय बजेटमा राजनीतिक सहमती कायम गराउने तथा अर्थतन्त्रलाई विनाअवरोध अगाडी बढाउने सम्बन्धमा राजनीतिक दलहरु बीच न्यूनतम साझा सहमतीका लागि प्रयास गर्दै आएको छ । यस क्रममा महासंघको प्रतिनिधिमण्डलबाट प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति, अर्थमन्त्रीसंग भेटघाट गरी आफ्ना धारणा राखी सकेको छ भने यसलाई अझै केही दिन जारी राख्ने कार्यक्रम छ ।