राजपत्रमा सूचना प्रकाशित भएको मितिले ९१ औ दिनदेखि लागुहुने गरी स्वदेशमा उत्पादित तथा विदेशबाट आयात हुने चूनजन्य पदार्थ तथा सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकेजिंङ गरेर मात्र बजारमा ल्याउनु पर्ने नेपाल सरकार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
उपरोक्त निर्णयपूर्व सरोकारवालालाई विश्वासमा नलिई तथा आवश्यक समय समेत नदिई एक पक्षिय ढंगबाट, बिना कुनै तयारी यस्तो निर्णय गरिनुले सम्बन्धित उद्योगीहरुलाई अझबढी ससंकित बनाएको छ । लेमिनेशन गरेका बोराहरु आफैमा बाताबरण मैत्री हुन सक्दैनन । हालसम्म स्वदेशमा लेमिनेशन गरेका बोराहरु उत्पादन गर्ने उद्योग स्थापना भैनसकेको अवस्थामा बिदेशबाट बोराहरु आयात गरी प्याकिड गर्दा करोडौको थप विदेशी मुद्रा लाग्ने तथा स्थापित बोरा बनाउने उद्योगले बजार समेत नपाउने स्थिति यथार्थ छ । लेमिनेशन गरेका बोरा प्रयोगबाट सिमेन्टको मूल्य समेत बढ्न जाने हुदा, व्यापक विश्लेषण गर्नु जरुरी भएकाले नेपाल सरकारले गरेको उपरोक्त निर्णय ९१ दिन भित्र कार्यान्वयन हुन सम्भव नभएको महासंघ स्पष्ट पार्दछ ।
चुनजन्य पदार्थ र सिमेन्टको प्याकिंङ सम्बन्धी नयां मापदण्ड निर्धारण गर्दा सबै सरोकारवालासंग आवश्यक छलफल तथा नयां मापदण्डबाट पर्ने आर्थिक एवं वातावरणीय प्रभावको राम्रो विश्लेषण गरेर मात्र निर्णय गर्न उपयुक्त हुने हुंदा लेमिनेशन गरेको बोरामा प्याकिंङ गरेर मात्र बजारमा ल्याउनुपर्ने नेपाल सरकारले गरेको उपरोक्त निर्णय व्यवहारिक नभएकोले सो निर्णय फिर्ता लिन महासंघ माग समेत गर्दछ ।