नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित महासंघका पदाधिकारीहरु र नेपालका लागि थाइल्याण्डका राजदूत कानथोङ उनाकूल (Kanthong Unakul, Ambassador, Royal Thai Embassy in Nepal) बीच आज महासंघ सचिवालय टेकूमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयो । सो अवसरमा नेपालको आर्थिक व्यवसायिक विकासका लागि आपसी सहयोगका विषयमा विस्तृत छलफल भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, कार्यकारिणी समिति सदस्यहरु वि.के. श्रेष्ठ, शेखर गोल्छा, छायां शर्मा, पूर्व मन्त्री डा. रुप ज्योति, नेपाल थाइ चेम्वर अफ कमर्सका अध्यक्ष अजय मुडवरी सहितको सहभागिता रहेको सो भेटघाटका अवसरमा राजदूत उनाकूलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले सन् २०१२-१३ लाई लगानी वर्षको रुपमा नेपालले मनाइरहेको सन्दर्भमा नेपालमा थाइ लगानी आकर्षणका लागि कुटनीतिक तवरबाट सहयोगका लागि आग्रह गर्नुभयो ।
अध्यक्ष वैद्यले यस अवधिमा नेपाल सरकारबाट महासंघ समेतको सहयोगमा विभिन्न महत्वपूर्ण क्षेत्रहरुलाई समेटी ५० वटा परियोजनाहरुको तयारी भइरहेको र ती परियोजनाहरुको तयारी पछि थाइल्याण्ड लगायत विभिन्न देशहरुमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना रहेको जानकारी गराउनु भयो । यसका लागि महासंघले कुटनीतिक तहबाट समेत सहयोगको अपेक्षा गरेको बताउनु भयो । गत फेव्रुअरीमा थाइल्याण्डमा सम्पन्न महासंघको कार्यकारिणी समितिको बैठकको समिक्षा गर्नुहुंदै अध्यक्ष वैद्यले नेपालमा व्यवसायिक कृषि, खाद्य प्रशोधन, पर्यटन लगायतका सम्भावित क्षेत्रहरुमा थाइ लगानी तथा सहयोगको प्रचुर सम्भाव्यता रहेको औल्याउनु भयो ।
राजदूत उनाकूलले नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघसंग मिलेर नेपालको सम्भावित क्षेत्रहरुमा थाइ लगानी आकर्षणका लागि राजदुतावासको तर्फबाट सक्दो सहयोग पुर्याउने विश्वास दिलाउनु भयो । व्यावसायिक कृषि, एक जिल्ला एक उत्पादन, पर्यटन, प्याकेजिङ उद्योग लगायतका क्षेत्रमा थाइ लगानीकर्ताहरुलाई नेपालमा आकर्षणका लागि सक्दो सहयोग हुन सक्ने सम्भाव्यता औल्याउनु भयो ।