नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल र भारतको उत्तर प्रदेश बीचको आर्थिक व्यापारिक सम्भाव्यता, आयात निर्यातमा रहेका समस्या लगायतको अध्ययन गर्ने उद्देश्यले महासंघको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्यो ।
महासंघको कार्यकारिणी समितिका सदस्यहरु गुणनिधी तिवारी, कृष्ण प्रसाद शर्मा, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य एवं नेपाल पर्यटन वोर्डका सदस्य ध्रुव नारायण श्रेष्ठ, नवलपरासी उवासंघका अध्यक्ष वैजनाथ जैसवाल, सिद्धार्थनगर उवासंघका अध्यक्ष विष्णुप्रसाद शर्मा, कंचनपुर उवासंघका अध्यक्ष गणेशदत्त जोशी, कैलाली उवासंघका अध्यक्ष कर्ण कुंवर, नेपालगंज उवासंघका अध्यक्ष सुनिलकुमार शर्मा, उपाध्यक्ष इस्पियाक अहमद खान, सतिशकुमार अग्रवाल, जडीवूटी एसोसिएसन नेपालका अध्यक्ष मधुकर थापा क्षेत्री, बुटवल उवासंघका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, महासंघका उपनिर्देशक रतिस वस्नेत, संचारकर्मीहरु लगायतको सो प्रतिनिधिमण्डलमा सहभागिता रहेको छ ।
प्रतिनिधिमण्डलले भ्रमणको क्रममा असार ५ गते शुक्रवार उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादव (Chief Minister of UP Shri Akhilesh Yadav) संग भेटवार्ता गर्ने छ । भेटवार्ताका क्रममा महासंघको प्रतिनिधिमण्डलबाट प्रशारण लाइनको निर्माण, द्विपक्षीय व्यापारका क्रममा देखापरेका कठिनाई एवं समस्याहरु, सिमाक्षेत्रमा रहेका पूर्वाधारहरुको स्तरोन्नती, पारवहन, ल्याव टेस्टिङको विस्तार एवं स्तरोन्नती, पर्यटन विकास, आपसी लगानीका सम्भाव्यता लगायतका विषयमा छलफल गर्नेछ ।
त्यसैगरि महासंघको प्रतिनिधिमण्डलबाट भ्रमणको सिलसिलामा भारतीय उद्योग परिसंघ (CII) को स्थानीय च्याप्टरका पदाधिकारीहरुसंग पनि भेटघाट गर्ने छ भने प्रतिनिधिमण्डलबाट त्यहाको औद्योगिक क्षेत्रको भ्रमण (Industrial Area Visit) तथा आयात निर्यात व्यापारमा सिमा क्षेत्रमा देखापर्ने समस्याहरुको अध्ययन गर्ने कार्यक्रम छ ।