अर्घाखांची सिमेन्ट प्रा.लि.को अर्घाखांची जिल्लाको नरपानी गाविसस्थित उद्योगको खानी स्थानीय केही व्यक्तिहरुको अवरोधका कारण विगत लामोसमयदेखि बन्द रहन गएको छ । खानी संचालनका लागि उद्योगले स्थानीय क्षेत्रको वातावरण संरक्षण, स्थानीय क्षेत्रमा भौतिक पूर्वाधारको विकास तथा स्थानीय जनतालाई रोजगारी समेत दिंदै आएको अवस्थामा केही व्यक्तिहरुको स्वार्थका कारण खानी संचालन हुन नसक्दा उद्योगले निकै ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।
त्यसक्षेत्रको वातावरण संरक्षणका लागि उद्योगले खानीक्षेत्र वरपर वृक्षारोपण तथा पानीका मुहान संरक्षण कार्यक्रम लिएर गएको अवस्थामा स्थानीय केही व्यक्तिहरुको समूहले २०६९ साउन ६ गते उद्योगका कर्मचारीहरुलाई निर्घाध कुटपीट गरी घाइते बनाएको घटनाप्रति यस नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ यस्ता सांघातिक हमलाको घोर निन्दा एवं भत्सर्ना गर्दछ । नेपाल सरकारको कानुन अनुसार तोकिएको मापदण्ड पुरागरी संचालित उद्योगको खानीलाई विगत ८-९ महिनादेखि जवरजस्ती रुपमा बन्द गरिनु कुनै पनि हालतमा न्याय संगत नहुने महासंघको धारणा छ । लामोसमयदेखि खानी संचालन नहुंदा उद्योगको लागि आवश्यक कच्चा पदार्थ अभाव हुन गई उद्योग बन्द हुने अवस्था सृजना भएको छ भने यस्ता घटनाहरुले मुलुकभित्र काम गर्ने वातावरण अझ विग्रदै गएको सन्देश दिएको छ ।
स्वदेशी एवं विदेशी संयुक्त लगानीमा २०५७ सालमा रु. २ अर्व ५० करोडको लागतमा स्थापना भई २०६१ देखि संचालनमा आएको अर्घाखांची सिमेन्ट प्रा.लि.ले प्रत्यक्ष/अप्रत्यक्ष स्थानीय समेत गरी करिव ७ सय जनालाई रोजगारी दिईरहेको छ । उद्योगले दैनिक एक हजार टन सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । केही अवाञ्छित व्यक्तिहरुको कारण उद्योग बन्द हुन गयो भने यसबाट सयौं मानिसहरुले रोजगारी गुमाउने छन् भने मुलुकले निकै ठूलो आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । मुलुकलाई सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनाउन ठूलो प्रयास भैरहेको अवस्थामा हाल संचालित यस्ता उद्योगहरु बन्द हुंदै जाने अवस्था सृजना भयो भने विदेशी लगानीको आव्हान तथा नेपाल लगानी वर्ष मनाइरहेको अवस्थामा यस्ता घटनाहरुबाट देश विदेशमा नकारात्मक संदेश प्रवाह भई नेपालमा कुनै पनि लगानी आउन नसक्ने तर्फ गम्भीर हुन महासंघ सम्बन्धित सवैको ध्यानाकर्षण गराउंदछ ।
अत: उद्योगको खानी बन्द गराउन उद्दत त्यस्ता समूहलाई तत्काल नियन्त्रणमा लिएर कानून अनुसार कारवाही गरी स्वदेशभित्र निर्वाध उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाईदिन महासंघ नेपाल सरकार समक्ष गम्भीर आग्रह गर्दछ ।