नेपाल भ्रमणमा आएको उच्चस्तरीय क्यानेडियन व्यावसायिक प्रतिनिधिमण्डल र नेपाली उद्यमी व्यवसायी बीच नेपालमा उर्जा विकास, हवाई उड्यन, फोहोर मैला व्यवस्थापन तथा जल प्रशोधनका क्षेत्रमा नेपालमा लगानी सम्भाव्यता विषयमा आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा आयोजित द्धिपक्षीय भेटवार्तामा नेपालमा उर्जा विकासमा क्यानेडियन लगानीका विषयमा विशेष जोड दिइएको थियो । प्रख्यात क्यानेडियन कम्पनीहरु एजीएस लि. (AGS Ltd.) वेल हेलिकप्टर (Bell Helicopter), क्लीयरफोर्ड इण्डिया प्रा.लि. (Clearford India Pvt. Ltd), ह्याच (Hatch), एसएनसी ल्याभलिंग (SNC-Lavalin) तथा एक्स्पोर्ट डभलपमेन्ट क्यानाडा (Export Development Canada) का प्रतिनिधिहरुले नेपालमा उर्जा विकास, जल प्रशोधन लगायतका क्षेत्रहरुमा लगानी गर्न इच्छुक रहेको बताएका थिए ।
सो अवसरमा महासंघका अध्यक्ष वैद्यले नेपालमा उर्जा विकासमा निकै ठूलो सम्भाव्यता रहेको र नेपालमा लगानीका लागि वातावरण पनि बन्दै गएको विश्वास दिलाउनु भयो । झट् हेर्दा नेपालमा लगानीको वातावरण नरहेको जस्तो प्रस्तुती भएपनि विस्तारै आर्थिक विकास र लगानीका आधारहरु वन्दै गएकाले नेपालमा शिप, प्रविधि, पूंजी लगानीका माध्यमबाट सहकार्य गर्न क्यानेडियन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
दिल्लीस्थित नेपालका लागि क्यानेडियन राजदुत स्टुवार्ट वी वेक (Stewart G Beck, Canadian Embassador to Nepal) ले नेपाल र क्यानेडा बीच व्यावसायिक तथा लगानी प्रवद्र्धनका लागि यो छलफल निकै उपलव्धीमुलक शुरुवात भएको बताउनु भयो । उहांले नेपालमा क्यानेडियन लगानी आकर्षणका लागि आफूले कुटनीतिक तवरबाट सक्दो सहयोग गर्ने र भारतमा रहेको क्यानेडियन लगानी नेपालमा समेत आकर्षित हुन सक्ने सम्भाव्यता औल्याउंदै आफूले महासंघसंग नजिकमा रहेर कार्य गर्ने र नेपाल क्यानाडा व्यवसायिक परिषद् जस्ता फोरमहरु स्थापना गरी कार्य गर्न सकिने स्पष्ट पार्नु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, कार्यकारिणी समितिका सदस्यहरु तथा अन्य उद्यमी व्यवसायीहरुले नेपाल क्यानेडिया आर्थिक सम्बन्ध विस्तारमा दुई देशका निजी क्षेत्र बीच सम्बन्ध विस्तारमा जोड दिनु भयो ।