नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य तथा महासंघका पदाधिकारीहरु र टर्कीको इस्तानवुल चेम्वर अफ कमर्सका अध्यक्ष डा. मुरात एलकिन्तास (Dr. Murat Yalcintas, President, The Istanbul Chamber of Commerce) को नेतृत्वमा नेपाल भ्रमणमा आएको टर्कीस व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षिय व्यावसायिक भेटवार्ता सम्पन्न भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु भवानी राणा, पशुपति मुरारका, कार्यकारिणी समितिका सदस्य जगदीश प्रसाद राठी, महानिर्देशक हेमन्त दवाडी तथा इस्तानवुलको व्यवसायिक प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको भेटवार्तामा नेपाल र टर्की बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका सम्भाव्य क्षेत्रहरु, नेपालका सम्भाव्य लगानीका क्षेत्रहरु, नेपाल लगानी वर्ष लगायतका विषयमा विस्तृत छलफल भयो ।
सो अवसरमा महासंघका अध्यक्ष सुरज वैद्यले टर्की प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै तुलनात्मक रुपमा नेपालमा व्यवसाय गर्न निकै सहज रहेकाले सम्भाव्य लगानीका क्षेत्रको रुपमा पहिचान गरिएका पूर्वाधार (सडक, हवाईमार्ग, जलविद्युत ड्याम्म लगायत), पर्यटन, जलविद्युत, व्यवसायिक कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । सरकारी नीति नियम वैदेशिक लगानीमैत्री रहेको पनि उहांले बताउनु भयो । अध्यक्ष वैद्यले विकासको पथमा अगाडी बढ्दै गरेको नेपालका लागि यतिखेर वाह्य लगानी, शिप, प्रविधि, अनुभवको आवश्यकताका रहेकाले इस्तानवुल प्रतिनिधिमण्डलसंग आर्थिक विकासमा सहकार्यका लागि आग्रह गर्नुभयो ।
भेटवार्ताका क्रममा इस्तानवुल चेम्वरका अध्यक्ष डा. मुरात एलकिन्तास (Dr. Murat Yalcintas, President, The Istanbul Chamer of Commerce) ले दुई देशका निजी क्षेत्र बीचको यो भेटवार्ता निकै महत्वपूर्ण रहेको र संयुक्त लगानीका लागि नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले अगाडी सारेका क्षेत्रहरुमा टर्कीको लगानी आकर्षणका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । उहांले काठमाडौं इस्तानवुल सिधा हवाई सम्पर्क जोड्न सकेमा दुई देश बीच पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलव्धी हासिल गर्न सकिने विश्वास आफूलाई रहेकाले यसलाई सफल पार्नु पर्नेमा जोड दिनु भयो ।