नेपाल लगानी वर्ष २०१२—१३ लाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न देशहरुमा प्रवद्र्धनात्मक व्यवसायिक भ्रमण शुरु गरेको छ । लगानीका लागि सम्भाव्य क्षेत्रहरुको प्रचार प्रसार तथा नेपाल सरकारबाट विदेशी लगानीका लागि लिइएका नीति तथा कार्यक्रमहरु तथा महासंघले थालनी गरेका प्रयासहरुका वारेमा सम्बन्धित देशहरुमा प्रचार प्रसार गरी ती देशहरुका लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आव्हान गर्नु भ्रमणको मुख्य उद्देश्य रहने छ ।
यसै उद्देश्यलाई सफल पार्ने क्रममा महासंघले यस बीचमा विभिन्न देशहरुमा व्यावसायिक भ्रमण सम्पन्न गरी नेपालको प्रचार प्रसार गर्न सफल भएको छ । हालै मात्र महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघको एक प्रतिनिधिमण्डलबाट अष्ट्रेलियामा आयोजना गरिएको गैर आवासीय नेपाली सम्मेलनमा सक्रिय सहभागिता सहित अष्ट्रेलियाका व्यवसायिक संघ संस्थाका पदाधिकारीहरुसंग भेटवार्ता सम्पन्न गरेको छ भने आजै रातीमात्र महासंघका उपाध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको एक प्रतिनिधिमण्डल फ्रान्स लगायत केही यूरोपियन देशहरुको भ्रमणमा जांदैछ ।
महासंघबाट आयोजना भैरहेका प्रवद्र्धनात्मक व्यवसायिक भ्रमणका सम्बन्धमा जानकारी दिन आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले एनआरएन सम्मेलनको दौरानमा नेपाल लगानी वर्ष तथा सम्भाव्य लगानीका क्षेत्रहरुका विषयमा तयार गरिएका विभिन्न परियोजनाहरुको वारे जानकारी गराउनु भयो । सो अवसरमा नेपालमा लगानीका लागि वातावरण अत्यन्त सुरक्षित रहेको सन्देश प्रवाह गर्न महासंघ सफल भएको उहांले वताउनु भयो । भ्रमणका दौरानमा महासंघका तर्फबाट अष्ट्रेलियाको न्यू साउथ वेल्स विजनेश कान्सिल (New South Wells Business Council) का पदाधिकारीहरुसंग भेटवार्ता गरी नेपालमा लगानीको सम्भाव्यताका वारेमा जानकारी गराइएको थियो । साथै सो अवसरमा उक्त संस्थाका तर्फबाट लगानीका आकर्षणका लागि नेपालका तर्फबाट अष्ट्रेलियामा आयोजना गरिने कार्यक्रमहरुका लागि प्लेट फर्म उपलव्ध गराउन सहमती जनाइएको वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले जानकारी गराउनु भयो । उहांले भ्रमणका दौरानमा भएका भेटवार्ता, छलफल, वैठक तथा अन्तरक्रियाबाट नेपाललाई स्थापित गर्ने कार्यमा भ्रमण निकै सफल भएको विश्वास प्रकट गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेपालको लगानी सम्भाव्यताको विषयमा प्रचार प्रसार तथा नेपालमा यूरोपियन लगानी आकर्षण सम्भाव्यताको अध्ययन गर्ने उद्देश्य सहित महासंघका उपाध्यक्ष भवानी राणाको नेतृत्वमा दुवै देशका राजदुतावास तथा नेपाल फ्रान्स उद्योग वाणिज्य संघको पहल एवं सहयोगमा आजदेखि हुन लागेको फ्रान्स, इटली र स्वीजरल्याण्डको व्यवसायिक भ्रमणका विषयमा उपाध्यक्ष राणाले जानकारी गराउनु भयो ।
महासंघका कार्यकारिणी समिति सदस्यहरु, जिल्ला नगर उद्योग वाणिज्य संघका पदाधिकारी एवं सदस्यहरु समेत गरि २९ जना उद्यमी व्यवसायीहरुको सहभागिता रहने सो भ्रमण आगामी असोज ४ गतेसम्मको हुनेछ । भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलबाट प्यारिस उद्योग वाणिज्य संघ (Chamber of Commerce and Industry of Paris), अन्तराष्टिय चेम्वर अफ कमर्स (International Chamber of Commerce), नेपाली राजदूतावास पेरिस, फ्रान्समा रहेका गैर आवासीय नेपाली संस्थाका पदाधिकारीहरुसंग भेटवार्ता गरी नेपालमा लगानीको वस्तुस्थिति, लगानीका सम्भाव्यता तथा सरकार तथा निजी क्षेत्रका तर्फबाट लगानी विस्तारका लागि भएका प्रयासहरु वारे जानकारी गराइने कार्यक्रम छ भने त्यहांको व्यावसायिक क्षेत्रसंग एक आपसमा व्यावसायिक भेटवार्ता गर्ने जानकारी उपाध्यक्ष राणाले पत्रकार सम्मेलनमा गराउनु भयो । केही राजनीतिक अस्थिरता जस्तो देखिएपनि नेपाल लगानीका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिन आफ्नो भ्रमण सफल हुने पनि उपाध्यक्ष राणाले विश्वास प्रकट गर्नुभयो ।