नेपाल कम्युनिष्ट पार्टी-माओवादीले आजदेखि भारतीय नम्वर प्लेटका गाडी चल्न रोक लगाउने निर्णय गरेको र उक्त पार्टीका कार्यकर्ताहरुद्वारा जवरजस्ती भारतीय नम्वर प्लेटका गाडीहरुलाई नेपालमा आवातजावत गर्न नदिएको भनि आएको समाचारप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यदि यो समाचार सही र नेकपा-माओवादीबाट संस्थागत रुपमै यस्तो निर्णय भएको हो भने राष्ट्रका लागि यो दूर्भाग्यपूर्ण हुने हाम्रो ठहर छ ।
नेपाल र भारत बीचको सदियौंदेखि आर्थिक, सामाजिक, साँस्कृतिक सम्बन्ध रहेको अवस्थामा यस्ता अनाधिकृत, गैर कानूनी र अराजक निर्णयले कसैको पनि भलो गर्दैन । वहुआयामिक सम्बन्ध भएको छिमेकी मुलुक भारतसंग नेपालको कूल व्यापारको ६५ प्रतिशत व्यापार हुने गरेको र दैनिक रुपमा खाद्यान्न, ग्याँस, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ लगायतका अत्यावश्यक वस्तुहरु आयात हुने गरेको छ । दुई देश बीचको आपसी सम्बन्धमै खलल पार्न सक्ने यस प्रकारका निर्णय अत्यन्त गैर जिम्मेवार र दुई देश बीचको कुटनीतिक सम्बन्धमै नकारात्मक असर पार्ने खालका रहेकाले यस्ता निर्णय उपर गम्भीर हुन महासंघ हार्दिक आग्रह गर्दछ ।
अत: महासंघ यस्तो क्रियाकलापप्रति खेद प्रकट गर्दै दुई देश बीचको प्रगाढ कुटनीतिक सम्बन्ध तथा आर्थिक संवेदनशीलतालाई मनन गरी उक्त निर्णय तत्काल फिर्ता लिन नेकपा-माओवादी समक्ष जोडदार माग समेत गर्दछ । साथै भारतीय नम्वर भएका गाडीहरुलाई नेपालमा समान आपूर्ति गर्न नदिने हो भने नेपालमा कतिपय वस्तुको अभावकोस्थिति सृजना हुने र मुल्य समेत अत्यधिकरुपमा बढ्ने तर्फ पनि महासंघ गम्भीर ध्यानाकर्षण गराउंदछ ।