नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आजबाट काठमाडौंको होटल हायातमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको उद्योग वाणिज्य महासंघहरुको प्रतिनिधि संस्था Conferderation of Asia-Pacific Chambers of Commerce and Industry-CACCI को २६ सम्मेलनका दौरानमा आज विहान विभिन्न देशहरुका उद्योग वाणिज्य संघहरु तथा नेपाल उद्योग वाणिज्य महासंघ बीच ती देशहरुसंग आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले छुट्छुटै सहमतीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भयो ।
यस क्रममा महासंघ र The Union of Chambers and Commodity Exchanges of Turkey तथा महासंघ र Georgian Chambers of Commerce and Industry बीच सहमतीपत्रमा हस्ताक्षर भयो । टर्कीसंग भएको सहमतीपत्रमा महासंघका अध्यक्ष सुरज वैद्य र The Union of Chambers and Commodity Exchanges of Turkey अध्यक्ष रोना यारकाली (Rona Yircali) ले हस्ताक्षर गर्नुभयो भने जर्जियासंगको सहमतीपत्रमा महासंघका अध्यक्ष वैद्य र जर्जियन उवासंघका पूर्व अध्यक्ष जेमाल इनाइसभिला (Jemal Inaishvilla) ले हस्ताक्षर गर्नुभयो ।
सहमतीपत्रमा ती देश र नेपाल बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि दुवै देशका हस्ताक्षरकारी संस्थाहरु बीच निकटमा रहेर कार्य गर्ने उल्लेख छ । महासंघ र The Union of Chambers and Commodity Exchanges of Turkey बीचको सहमतीपत्रमा नेपाल र टर्की बीचको लगानी विस्तारका लागि एक छुटै व्यवसायिक परिषद् गठन गर्ने उल्लेख छ ।
सहमतीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले क्यासी सम्मेलनको क्रममा टर्की र जर्जियासंगको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि भएको आपसीसहमती नेपालको आर्थिक विकासका लागि कोशेढुंगा हुने वताउनु भयो ।
अध्यक्ष वैद्यले नेपालले यतिखेर आर्थिक विकासका लागि निकै ठूलो प्रयास गरिररहेको र सोही क्रममा नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त पहलमा सन २०१२ /१३ लाई नेपाल लगानी वर्षको रुपमा मनाई रहेकोले नेपाल लगानी वर्षको सफलताका लागि पनि यो सम्मेलन निकै महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो ।
सम्मेलन आयोजनाबाट एशिया तथा प्रशान्त क्षेत्रमा नेपालको प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास प्रकट गर्दै नेपालमा लगानीका लागि टर्की तथा जर्जियाका उद्यमी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । नेपालका लागि तपाईहरुसंग भएको विकासको अनुभव, प्रविधि तथा शीपको आवश्यकता छ, त्यसकारण नेपाली निजी क्षेत्र नेपालमा लगानीका तपाईहरुलाई आग्रह गर्दछ अध्यक्ष वैद्यले भन्नु भयो । आपसी सहमतीका माध्यमबाट आफ्ना जनताहरुको हितका लागि निकै धेरै कार्यहरु गर्न सकिने विश्वास प्रकट गर्नुहुंदै अध्यक्ष वैद्यले नेपालमा पर्यटन, कृषि, पूर्वाधार निर्माण, जलविद्युत, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको ठूलो सम्भाव्यता रहेको समेत दुवै देशका उद्यमी व्यवसायीहरुलाई जानकारी गराउनु भयो ।
सहमतीपत्रमा हस्ताक्षर पश्चात सम्वोधन गर्नुहुंदै The Union of Chambers and Commodity Exchanges of Turkey अध्यक्ष रोना यारकाली (Rona Yircali) ले नेपालसंग आर्थिक सम्बन्धलाई अझ सुमधुर र परिणामदायी वनाउन यो सहमती वलियो खुड्कीलो हुने वताउनु भयो । उहांले सहमतीपत्रमा उल्लेखित भावनालाई अक्षरसपालना गर्न आफनो संस्थाले महासंघसंग सधै नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो । पनि सम्बन्ध स्थापित गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । नेपालसंगको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि टर्कीबाट निकै धेरै कार्यहरु अगाडी बढीसकेको जानकारी गराउनुहुंदै यसक्रममा टर्कीको व्यवसायिक प्रतिनिधिमण्डलबाट विभिन्न समयमा नेपालको भ्रमण भएको जानकारी गराउनु भयो ।
टर्की नेपालको पर्यटन विकासमा सहयोग पुऱ्याउन निकै लालयित रहेको वताउनु हुंदै उहांले अर्को वर्षबाट टर्की नेपाल सिधा हवाई सम्पर्क विस्तार हुने विश्वास समेत दिलाउनु भयो । उहांले एशिया तथा यूरोपको प्रवेशद्धारको रुपमा रहेको टर्की तथा एशियाका दुई ठूला अर्थतन्त्र भएका भारत र चीनको प्रवेशद्धारको रुपमा रहेको नेपाल बीच संयुक्त लगानीको प्रशस्त सम्भाव्यता औल्याउनु भयो ।
जर्जिया उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष Jemal Inaishv ले आपसी सहकार्यका माध्यमबाट आर्थिक सम्बन्ध विस्तार गर्ने यो सहमती हाम्रा लागि ऐतिहासिक हुने बताउनु भयो । उहांले भन्नु भयो यो निकै राम्रो सुरुवात भएको छ, नेपालसंग आर्थिक सम्बन्ध विस्तारका लागि जर्जियन निजी क्षेत्र क्षेत्र अत्यन्त उत्साहित भएकोले सहमतीपत्रमा उल्लेख भएका भावनाहरुलाई अक्षरस कार्यान्वयन गर्न आफ्नो संस्था प्रतिवद्ध रहने विश्वास दिलाउंदै यसको सफलताको कामना गर्नुभयो । साथै उहांले सहमतीबाट आगामी दिनमा सहकार्यका लागि रणनीति तय गर्न सहज हुने विश्वास प्रकट गर्नुभयो ।
सहमतीपत्र हस्ताक्षर कार्यक्रममा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले क्यासी सम्मेलनको आयोजनासंगै आर्थिक सम्बन्ध विस्तारको उद्देश्यका साथ भएको सहमती नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोगी हुने विश्वास प्रकट गर्नुभयो । साथै उहांले महासंघ आफूसंग सहमती भएको आफ्ना समकक्षीहरुसंग निरन्तर सहकार्यमा रहने विश्वास समेत दिलाउनु भयो ।
क्यासीको २६ औं सम्मेलन भाग लिन आएको रसियाको प्रतिनिधिमण्डलसंग पनि आजै विहान भेटघाट एवं छलफल भयो । नेपालका लागि रसियाका राजदुत डा. सर्जिइ भेसिलिभिच (Dr. sergey Vasilievich, Russian Ambassador to Nepal) को समुपस्थितिमा रसिया उद्योग वाणिज्य संघका पदाधिकारी, गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष डा. उपेन्द्र महतो लगायत नेपाली उद्यमी व्यवसायीहरुको सहभागितामा सम्पन्न भेटघाट एवं छलफल कार्यक्रममा नेपालको आर्थिक विकासमा रसियाको सहयोगका विषयमा छलफल भयो । सो अवसरमा नेपालमा
लगानीका लागि महासंघका तर्फबाट आग्रह गर्दा रसियन पक्षबाट नेपालको आर्थिक विकास, मानव शंसाधन विकासमा रसियाबाट निरन्तर सहयोग भैआएको र आउंदा दिनमा पनि यो सहकार्य अझ बढी गाढा हुने विश्वास दिलाईयो ।
२६ औं क्यासी सम्मेलनको आज सांझ सम्माननीय राष्टपति डा. रामवरण यादवबाट एक विशेष समारोहका बीच होटल हायात, काठमाडौंमा समुद्घाटन हुंदैछ । सम्मेलनमा नेपाल लगायत एशिया प्रशान्त क्षेत्रका करिव २८ वटा देशहरुबाट ३ सय जनाको सहभागिता रहने छ । सम्मेलन आगामी शुक्रवारसम्म चल्ने छ ।