नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको नेतृत्वमा महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरु एवं महासंघका सदस्य जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघका अध्यक्षहरु सम्मिलित प्रतिनिधिमण्डलले आश्विन २३ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
(प्रचण्ड), नेपाली कांग्रेसका सभापति सुशिल कोइराला एवं नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य “किरण”संग छुट्टा छुट्टै भेट गरेको छ । भेटमा महासंघको तर्फबाट अध्यक्ष वैद्यले महासंघमा हिजो मात्र ५० भन्दा बढी जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित भएको बैठकमा मुलुकका उद्यमी व्यवसायीले भोग्नु परेका राजस्व सम्बन्धी विविध समस्याहरुको वारेमा जानकारी गराउनु भएको थियो । साथै उहांले महासंघको आतिथ्यतामा हालै सम्पन्न CACCI Conference को वारेमा पनि जानकारी गराउनु भएको थियो ।
बैठकमा अध्यक्ष वैद्यले राजनैतिक सहमतिका लागि भई रहेको पहलको स्वागत गर्नु हुंदै हालसम्म राजनीतिक दलहरुले आर्थिक बिषयहरुलाई उतिसारो ध्यान नदिएको र अव हुने सहमतिमा आर्थिक नीतिमा पनि न्यूनतम समझदारी हुनु पर्ने माग महासंघको रहेको तर्फ सबैको ध्यानाकर्षण गराउनु भयो । साथै उहांले पूरा आर्थिक वर्षको बजेट नआउंदा विकास निर्माणका कामले गति लिन नसकेको तर्फ ईंगित गर्दै दलहरुलाई सहमतिमा पुगेर राष्ट्रिय सहमतिको सरकार गठन गर्न र निज क्षेत्रलाई काम गर्न सक्ने वातावरण बनाई दिन आव्हान गर्नु भयो ।
बैठकमा सहभागी महासंघ एवं जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले जिल्ला जिल्लामा व्यवसायीले भोग्नु परेका कठिनाई, हालै राजस्वको क्षेत्रमा देखिएको mismatch को समस्या, न्यूनविजकिकरणका कारण साना व्यवसायीलाई पर्न गएको मार, राजस्व प्रशासनको जसरी भएपनि राजस्व उठाउने शैली, बढ्दो चन्दा आतंक आदिका वारेमा नेताहरुको ध्यान आकृष्ट गराउनु भयो ।
नेकपा (माओवादी) का अध्यक्षसंग भएको बैठकमा ट्रेड यूनियनका नाउंमा हुने जोर जवरजस्ती, दलका प्रतिनिधि एवं भातृ संगठनहरुबाट रकमै तोकेर जवरजस्ती चन्दा उठाउने तरिका एवं उक्त पार्टिले हालै भारतीय नम्बर भएका सवारी साधनहरुलाई गरेको जोर जवरजस्तीका कारण व्यापार व्यवसाय क्षेत्रमा परेको नकारात्मक असरका वारेमा पनि जानकारी गराईयो । भारतीय नम्बरका गाडिहरुमा ढुवानी नेपालका लागि आवश्यक पर्ने भएको र भारतीय नम्बर प्लेटका गाडिहरु चल्न नदिदा सिमापारी नेपाली यातायातका साधन समेत चल्न नदिएको तर्फ पनि ध्यानाकर्षण गराईएको थियो । साथै हिन्दी सिनेमालाई चल्न नदिंदा कतिपय हल पनि बन्द भएको तर्फ पनि ध्यानाकर्षण गराईएको थियो ।
छलफलमा नेपाली कांग्रेसका तर्फबाट आफ्नो पार्टि खुला र उदार अर्थतन्त्रको पक्षधर रहेको र उद्यमी व्यवसायीहरुको समस्या तर्फ सकारात्मक रहेको धारणा व्यक्त गरियो । त्यसै क्रममा नेपाली कांग्रेसका तर्फबाट नेपाली कांग्रेस पार्टिले कानूनसम्मत हुने व्यापार व्यवसायलाई प्रोत्साहन गर्ने धारणा व्यक्त गरियो । भेटघाटमा नेपाली कांग्रेसका अध्यक्षले दलहरु बीचको सहमतिको विकल्प नभएको र आफ्नो दल लोकतान्त्रिक व्यवस्थालाई सुनिश्चित गर्ने सहमतिका लागि तयार रहेको र अरु दललाई समेत यस्तो सहमतिका लागि दवाव दिन उद्यमी व्यवसायीलाई आव्हान गर्नु भयो ।
भेटकै आवसरमा नेकपा (माओवादी) का अध्यक्षले नेपालको अहिलेको विकासको चरणमा पूजी निर्माणलाई बढावा दिनु पर्ने र राष्ट्रिय पूजी निर्माणको पक्षमा आफ्नो दल भएको धारण राख्नु भयो । साथै उहाँले आफ्नो दलले विदेशी लगानीको विरोध नगर्ने खाली त्यस्तो लगानी राष्ट्रिय पूजी निर्माणलाई सहयोग गर्ने किसिमको हुनु पर्ने धारणा राख्न भयो । उहांले आफ्नो दलसंग संवद्ध ट्रेड यूनियन लगायत भातृ संगठनले अराजक काम गरेको भए त्यसको सूचना केन्द्रिय नेतृत्वलाई दिन आग्रह गर्दै छलफलका आधारमा समस्याहरु निराकरण गर्न सकिने धारणा राख्नु भयो । साथै उहांले आफ्नो पार्टिको भारतीय नम्बर प्लेटका गाडिहरुको सञ्चालन र हिन्दी सिनेमा सञ्चालन गर्न नदिने निर्णय भारत विरोधी वा नेपालका उद्योग व्यवसायीको विरोध नभई नेपालका व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको र अत्यावश्यक बस्तुहरु ओसार पसारमा बाधा अवरोध खडा नगरिएको प्रष्ट पार्नु भयो । साथै उहांले विदेशी लगानी लगायत आर्थिक बिषयमा आफ्नो पार्टिले उद्योगी व्यवसायीसंग बृहद छलफल गर्ने प्रष्ट पार्नु भयो ।
त्यसै भेटका अवसरमा एनेकपा (माओवादी)का अध्यक्षले पूर्ण बजेटको पक्षमा आफ्नो दल पनि भएको र महासंघले उठाएका धेरै बिषयमा आफ्नो सहानुभूति रहेको धारणा राख्नु भयो । साथै उहांले राजनैतिक दलहरु बीच सम्वाद गहन रुपमा चलिरहेको र निकट भविष्यमा नै राष्ट्रिय सहमति हुन सक्ने आफ्नो विश्वास रहेको जानकारी दिनु भयो । साथै आर्थिक एजेण्डामा सहमतिका लागि आफ्नो पार्टिले अरु पार्टिसंगको छलफलमा कुरा उठाई दिने कुरा विश्वास दिलाउनु भयो ।
छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष, पशुपति मुरारका, कार्यकारिणी समितिका सदस्यहरु एवं विभिन्न जिल्लाहरुबाट आउनु भएका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।