नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघको एक प्रतिनिधिमण्डल भारतीय राजदुतावास (Indian Embassy) एवं भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce & Industry - FICCI) द्वारा नेपालका उद्योग वाणिज्य संघहरुका लागि आयोजना गरिएको एक कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्यो ।
महासंघका सदस्य उद्योग वाणिज्य संघहरुका पदाधिकारीहरु सम्मिलित उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघको कार्यकारिणी समिति सदस्यहरु गुणनीधि तिवारी, प्रकाश बहादुर सावद, दिपेन्द्र कुमार खत्री सहित उद्योग वाणिज्य संघका अध्यक्षहरु तथा नेपाल पर्यटन वोर्डका निर्देशक आदित्य वराल हुनुहुन्छ ।
भोलिदेखि शुरु हुने सो कार्यक्रममा प्रतिनिधिमण्डलले भारतका विभिन्न राज्यमा रहेका औद्योगिक क्षेत्रहरुको अवलोकन गर्नुका साथै फिकीले कार्तिक २४ गते शुक्रवार दिल्लीमा आयोजना गरेको एक विशेष कार्यक्रममा भागलिने छ । नेपालका उद्योग वाणिज्य संघहरुसंग आयोजना गरिएको उक्त विशेष कार्यक्रमलाई महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले सम्वोधन गर्नुहुनेछ । दुवै देशका निजी क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहने उक्त कार्यक्रममा आपसी आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी, पर्यटन लगायतका विषयमा वृहद छलफल हुने छ ।
त्यसैगरि सोही> अवसरमा दुई देशका व्यवसायीहरु बीच आपसी व्यवसायिक सम्बन्ध विस्तारका सम्बन्धमा एक आपसमा छुट्टाछुट्टै भेटवार्ता (B2B Meeting) समेत हुने छ । महासंघको प्रतिनिधिमण्डल कार्तिक २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।