नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा नेपाली व्यवसायिक प्रतिनिधिमण्डल मित्रराष्ट्र भारतको व्यवसायिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ ।
भारतीय सरकारको विदेश मन्त्रालय (Ministry of Foreign Affairs of India) एवं भारतीय निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian chambers of Commerce and Idustry-FICCI) को निमन्त्रणामा सम्पन्न सो भ्रमण कार्यक्रममा महासंघ र यसका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरु, नेपाल भारत उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघका प्रतिनिधि तथा नेपाल पर्यटन वोर्डको सहभागिता रहेको थियो ।
सो भ्रमणका क्रममा नेपाली व्यवसायिक प्रतिनिधिमण्डलले भारतको जयपुरका औद्योगिक क्षेत्रहरुको अवलोकन गर्नुका साथै फिकीले कार्तिक २४ गते शुक्रवार दिल्लीमा आयोजना गरेको एक विशेष कार्यक्रममा सहभागी भयो । उक्त विशेष कार्यक्रमलाई संवोधन गर्नुहुंदै वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले नेपाल र भारत बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई अझ विस्तार गर्न संचार माध्यमको भूमिकामा जोड दिनु भयो । वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले हामी बीचको अपार सम्भाव्यतालाई यथार्थतामा रुपान्तरण गरी त्यसबाट दुवै देशका जनतालाई लाभान्वित बनाउन संचार माध्यमहरुको सहयोगको खांचो औल्याउनु भयो । साथै उहांले भारतीय संचार माध्यमको नेपालमा सहज पहुंच भएजस्तै नेपाली संचार माध्यमहरुको भारतीय वजारमा सहज पहुंचमा जोड दिंदै भंसार नाकाहरुको सुव्यवस्था तथा स्तरीकरणमा जोड दिनु भयो ।
त्यसैगरी प्रतिनिधिमण्डलका सदस्य एवं नेपाल भारत उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शशिराज पाण्डे, निवर्तमान अध्यक्ष अरुण चौधरीले दुई देश बीचको विद्यमान लगानीको वस्तुस्थिति एवं यथार्थता माथि जानकारी गराउंदै सम्भाव्यतालाई यथार्थतामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादले दुई देश बीच हाल संचालनमा रहेका परियोजनाहरु तथा संयुक्त लगानीका सम्भाव्य क्षेत्र तथा आपसी हितका विषयहरुमा प्रकाश पार्नुभयो ।
त्यसैगरी नेपालका लागि पूर्व भारतीय राजदुत शीव शंकर मुखर्जी, तथा भारतीय विदेश मन्त्रालयका सहसचिव अखलेश मिश्रले दुई देश बीचको आर्थिक तथा दौत्य सम्बन्धको महत्व माथि प्रकाश पार्नुभयो । दुवै देशका निजी क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको सो कार्यक्रममा आपसी आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी, पर्यटन लगायतका विषयमा वृहद छलफल भएको थियो ।
त्यसैगरि सोही अवसरमा दुई देशका व्यवसायीहरु बीच आपसी व्यवसायिक सम्बन्ध विस्तारका सम्बन्धमा एक आपसमा छुट्टाछुट्टै भेटवार्ता (B2B Meeting) समेत सम्पन्न भयो ।