विश्व मधुमेह दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज महासंघको सचिवालयमा मधुमेह रोगका विषयमा एक अन्तरक्रिया तथा मधुमेह सहित मुटु तथा नसा सम्बन्धी रोगको नि:शुल्क परिक्षण कार्यक्रमको आयोजना गरियो । महासंघ र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह तथा मुटुरोग विशेषज्ञ, उद्यमी व्यवसायी, संचारकर्मीहरुको सहभागिता थियो ।
कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्राडा. शिवकुमार राईले निकै ठूलो स्वास्थ्य चुनौतीको रुपमा देखा परेको मधुमेह रोगको रोकथामका लागि प्रत्येक नेपालीले आफनो व्यवहारमा परिवर्तन ल्याउनु पर्ने सुझाव दिनु भयो । प्रमुख अतिथि प्राडा. राईले मधुमेहका लागि छुट्टै अस्पतालभन्दा पनि ५० शैया भन्दा माथिका सवै अस्पतालहरुमा मधुमेह सम्बन्धी छुट्टै कक्षको व्यवस्था हुन सकेमा मधुमेहका विरामीहरुलाई सहज सेवा उपलव्ध गराउन सकिने धारणा राख्दै सवै क्षेत्रबाट यसमा पहल हुन सुझाव दिनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले स्वास्थ्य रहन सकेमात्र उद्योग व्यवसाय रहन सक्ने धारणा राख्नु हुंदै जनताको स्वास्थ्य सुरक्षाका विषयमा राज्यले प्रत्याभुति गराउन नसक्दा धेरै नेपालीहरु उचित स्वास्थ्य परिक्षणको अभावमा आजपनि ज्यान गुमाउन बाध्य भएको बताउनु भयो । अध्यक्ष वैद्यले मधुमेह जस्ता असाध्य रोगका विषयमा आम जनतामा जनचेतना बढाउन समाज र महासंघको सहकार्यमा जिल्ला जिल्लामा महासंघका सदस्य उद्योग वाणिज्य संघहरु मार्फत जनचेतनामुलक कार्यक्रम लैजान पनि सुझाव दिनु भयो । साथै उहांले नेपाल औषधि लिमिटेड जस्ता निकायहरुलाई सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत संचालनमा ल्याई जीवन रक्षक औषधिहरु उत्पादन गरी जनतालाई अतिकम मुल्यमा औषधि उपलव्ध गराउन महासंघले सरकारसंग पहल गर्ने विश्वास समेत दिलाउनु भयो ।
मधुमेही समाजका संरक्षक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेले राज्य पक्षबाट स्वास्थ्य क्षेत्रमा उचित प्रतिवद्धता नआउंदा तथा जनता स्वयं पनि स्वास्थ्यमा प्रतिवद्ध नहुंदा हामीकहां स्वास्थ्य समस्या विकराल बन्न गएको तर्फ ध्यानाकर्षण गराउंदै जीवन रक्षक औषधिहरु सर्वसुलभ मुल्यमा जनतासम्म पुर्याउने नीति सरकारले अख्तियार गर्नुपर्ने राख्नु भयो । डा. पाण्डेले आम जनतालाई सर्वसुलभ मुल्यमा औषधि उपलव्ध गराउन महासंघ जस्ता संस्थाले नेतृत्व लिनु पर्नेमा जोड दिंदै बाह्य देशहरुमा जस्तै नेपालमा पनि जेनेटिक नाउंबाट औषधि उत्पादन हुने अभ्यासको थालनी हुन सकेमा आम जनताले सर्वसुलभ मुल्यमा औषधि पाउन सक्ने वताउनु भयो । साथै उहांले रुग्ण बनेको नेपाल औषधि लिमिटेडलाई सार्वजनिक निजी साझेदारीमा संचालन गरी यसैलाई जेनेटिक नाउबाट औषधि उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुृ पर्ने सुझाव दिनु भयो ।
महासंघको सामाजिक सेवा समितिका सभापति नन्दकिशोर श्रेष्ठ र सहसभापति तेजरत्न शाक्यले महासंघले संस्थागत सामाजिक दायित्वलाई मनन गरी प्रत्येक वर्ष विश्व मधुमेह दिवसको सेरोफेरोमा रहेर यस प्रकारको जनचेतनामुलक कार्यक्रम गर्दै आएको र यसलाई आगामी दिनमा अझ वृहद रुपमा लैजाने योजना रहेको सुनाउनु भयो ।
नेपाल मधुमेही समाजका कार्यवाहक अध्यक्ष रजनीनाथ प्याकुरेल तथा समाजका उपाध्यक्ष भगवती नेपालले पनि बोल्नु भएको सो कार्यक्रममा महासचिव शिव श्रेष्ठले मधुमेह रोगको इतिहास तथा नेपालमा यसको अवस्था सम्बन्धमा प्रस्तुती गर्नु भएको थियो भने ग्रन्थी तथा मधुमेह रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र वरिष्ठ मुटुरोग विशेषज्ञ चन्द्रमणि अधिकारीले मधुमेह र अन्य रोगको सम्बन्धमा विषयमा जानकारी गराउनु भयो । एक तथ्यांक अनुसार विश्वमा झण्डै ४० करोड जनताहरु मधुमेह रोगबाट पिडीत हुन पुगेका छन् भने नेपालको शहरी क्षेत्रको अनुमानित १४.६ प्रतिशत जनसंख्यामा यो रोग पाइएको छ । प्रत्येक वर्ष नोभेम्वर १४ देखि एक सातासम्म विश्व मधुमेह दिवस विश्वव्यापी रुपमा मनाईदै आएको छ । यस वर्षको विश्व मधुमेह दिवसको नारा Diabetes: Protect our future भन्ने रहेको छ । महासंघमा आयोजिक कार्यक्रममा ९० जना मानिसहरुले मधुमेह, उच्चरक्त चाप तथा नसा सम्बन्धी रोगको नि:शुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।