नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले विद्यमान राजनीतिक अन्यौलताले मुलुक ठूलो आर्थिक संकटमा फस्ने खतरा पैदा भएको बताउनु भएको छ । उद्योग वाणिज्य संघ, नवलपरासीको ३१ औं वार्षिक साधारण सभाको आज परासीमा उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि महासंघका अध्यक्ष वैद्यले विद्यमान राजनीतिक अन्यौलताले मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको र आर्थिक विकासमा मुलुक निकै पछाडी पर्दै गएकाले यथाशीघ्र छिटो राजनीतिक सहमती गरि मुलुकलाई निकास दिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
सवै राजनीतिक दलहरुको पूर्ण सहमतीमा आर्थिक वर्षको पुरा बजेट आउनु पर्नेमा त्यो आउन नसक्दा मुलुक थप संकट तर्फ उन्मुख हुने चिन्ता व्यक्त गर्दै मुलुकलाई कहिलेसम्म अध्यायदेश बजेटबाट चलाउने हो, राजनीतिक दलहरुसंग प्रतिप्रश्न गर्नुभयो । निजी क्षेत्रले बजेटलाई राजनीतिक हतियार नबनाउन बारम्वार आग्रह गर्दै आएपनि त्यसको सुनुवाई नभएकोमा चिन्ता प्रकट गर्नुहुंदै अध्यक्ष वैद्यले बजेट जस्तो अत्यन्त संवेदनशील विषयलाई एक निश्चित समयमा ल्याउन कानुनमै व्यवस्था हुनु पर्ने सुझाव दिनु भयो ।
समयमा पूर्ण बजेट नआउंदा उर्जा संकट झनै बढेर जाने, कृषिको व्यवसायिकरण, पूर्वाधार विकास लगायतका कुनै पनि कार्यक्रम अगाडी नबढ्ने हुंदा त्यसबाट अन्तत आम जनताले ठूलो नोक्सानी व्यवहोर्नुपर्ने यथार्थता अध्यक्ष वैद्यले राख्नु भयो । उर्जा विकास नभएसम्म औद्योगिक विकास असम्भव भएकाले उर्जा विकासका लागि सम्पूर्ण राष्ट्रनै केन्द्रीत हुनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष वैद्यले जिल्लाका व्यवसायीहरुले विभिन्न प्रकारका करका समस्या व्यहोर्नु परेको र यतिखेर आन्तरिक राजश्व सम्बन्धमा साना व्यवसायीहरु बीच “मिस म्याचिङ” को विकराल समस्या रहेकाले भुलवस भएका त्यस्तो समस्या समाधानका लागि एकपटकका लागि जरिवाना छुटदिने नीति ल्याउन महासंघले सरकारको सम्बन्धित निकायमा पहल गरीरहेको जानकारी गराउनु भयो । अध्यक्ष वैद्यले नवलपरासीमा उद्योग स्थापनाका के कस्ता सम्भाव्यता छन्, त्यसको आवश्यक अध्ययनका लागि उद्योग वाणिज्य संघ, नवलपरासीलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले राजनीतिक रुपमा मुलुकलाई छिटो निकास दिई आर्थिक विकासको मार्गमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
महासंघको लुम्बिनी अंचल प्रतिनिधि एवं कार्यकारिणी समिति सदस्य गुणनीधि तिवारीले पनि बोल्नु भएको सो कार्यक्रममा महासंघका सदस्य उद्योग वाणिज्य संघहरु, उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मधुदयाल सैजुले शुभकामना मन्तव्य दिनु भयो ।
संघका अध्यक्ष वैजनाथ जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका प्रतिनिधिले समेत शुभकामना मन्यत्व दिनु भएको थियो । वन्द सत्र सहित संघको साधारण सभा आजै सम्पन्न हुने कार्यक्रम छ ।