नेपाल सरकारबाट घोषणा गरिएको नेपाल लगानी वर्ष २०१२—१३ लाई स्वदेशबाटै प्रवद्र्धन गर्ने रणनीति अनुरुप पांचै विकास क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने क्रममा, आगामी पौष २५ देखि माघ ५ गतेसम्म चितवनमा हुने चितवन महोत्सव-२०६९ का अवसरमा मध्यमाञ्चलमा लगानी वर्ष प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने भएको छ । मध्यमाञ्चलमा गरिन लागेको सो प्रवद्र्धनात्मक कार्यक्रमको मूल नारा "Central Nepal:The Land of Opportunities" रहेको छ ।
यस क्षेत्रका उद्योग वाणिज्य संघहरुको सहभागितामा सो सम्बन्धी प्रारम्भिक बैठक आज ललितपुरमा सम्पन्न भयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको अध्यक्षतामा सम्पन्न बैठकमा यस क्षेत्रका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागिता थियो । बैठक ललितपुर उद्योग वाणिज्य संघको आतिथ्यातामा भएको हो ।
दश दिनसम्म चल्ने चितवन महोत्सवका अवसरमा आयोजना हुने सो कार्यक्रममा मध्यमाञ्चलमा लगानीका सम्भाव्यता विषयमा वृहद छलफल तथा अन्तरक्रिया हुनेछ । सो सम्मेलनमा पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, जलश्रोत, पर्यटन सम्बन्धी परियोजनाहरु सम्मिलित दस्तावेज (Project Bank) तयार गरी लगानीका लागि आव्हान समेत गरिने छ । उक्त कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, सरोकारवाला निकायहरु तथा वाह्य देशहरुबाट विज्ञहरुलाई आमन्त्रण गरिने छ । महोत्सवका क्रममा मध्यमाञ्चल लगानी वर्ष प्रवद्र्धन सम्बन्धी कार्यक्रम तीन दिनसम्म चल्ने छ ।
बैठकले महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षता एवं महासंघको मध्यमाञ्चल क्षेत्रीय प्रतिनिधि एवं कार्यकारिणी समिति सदस्य ध्रुव बहादुर थापा संयोजक रहने गरी ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी परियोजना प्रस्तावक, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई र गैर आवासीय नेपाली प्रतिनिधि श्रीधर गौतम सदस्य रहेको एक प्रस्ताव तयारी समिति समेत गठन गरेको छ । समितिले आगामी १५ दिन भित्र यस क्षेत्रका उद्योग वाणिज्य संघहरु मार्फत आएका प्रस्तावहरु मध्येबाट उपयुक्त प्रस्तावहरु छनौट गरी उक्त सम्मेलनमा प्रस्तुत गरिने योजना छ ।
बैठकलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले लगानी वर्षको अवसरमा महासंघले प्रत्येक विकास क्षेत्रमा लगानी वर्ष प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने क्रममा चितवन महोत्सवका अवसरमा मध्यमाञ्चल लगानी वर्ष प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने तयारी भैरहेकाले कार्यक्रमलाई सफल पार्न यस क्षेत्रका सवै उवासंघहरुलाई आव्हान गर्नुभयो । मुलुकका लागि यतिखेर सकारात्मक सोंचको जरुरी रहेको वताउंदै अध्यक्ष वैद्यले लगानी वर्षको जागरण प्रत्येक घरघरबाट आउन सकेमात्र लगानी वर्ष सफल पार्न सकिने हुंदा आआफनो क्षेत्र जिल्लामा लगानी वर्षको प्रवद्र्धन गर्न पनि उवासंघहरुलाई अनुरोध गर्नुभयो । लगानी वर्षको अवसरमा प्रत्येक जिल्लामा केही न केही कार्यक्रम लैजान सकिएमा त्यो ठूलो सफलता हुने पनि उहांले बताउनु भयो । साथै अध्यक्ष वैद्यले लगानीका लागि सम्भाव्य क्षेत्रहरुको पहिचान गराउन सकिएमात्र स्वदेशी एवं विदेशी लगानी आउन सक्ने बताउंदै प्रत्येक जिल्लामा केही न केही कार्यक्रम मार्फत स्थानीय क्षेत्रमा रोजगारी सृजना तथा आर्थिक गतिविधि बढाउन महासंघ लागिपर्ने स्पष्ट पार्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले अवधारणाको विकासनै सफलताको पहिलो खुड्किलो भएकाले अवधारणा विकासमा महासंघले निकै ठूलो प्रयास गरिरहेको स्पष्ट पार्नु भयो । वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले लगानी वर्षको अवसरमा स्थानीय क्षेत्रका सम्भाव्यतालाई साकार पार्न महासंघले विशेषजोड दिएको पनि बताउनु भयो । उहांले पूर्वाधार विकास, जलश्रोत, शिक्षा स्वास्थ्य, पर्यटन, खानीजन्य तथा व्यवसायिक कृषि नेपालका प्रमुख लगानीका क्षेत्रहरुका रुपमा किटान भएकाले यी क्षेत्रहरुमा आफ्नो जिल्ला कुन क्षेत्रमा अगाडी छ, सोमा आधारित रहेर ठोस परियोजना प्रस्ताव तयार गर्न पनि सहभागी उवासंघहरुलाई आग्रह गर्नुभयो ।
ललितपुर उवासंघका अध्यक्ष अजरमान जोशीले स्वागत मन्तव्य राख्नु भएको सो बैठकमा सहभागी उवासंघका पदाधिकारीहरुले आआफ्नो क्षेत्रका सम्भाव्य लगानीका क्षेत्रहरु, विद्यमान समस्या एवं चुनौतीहरुको वारेमा बैठकमा जानकारी गराउनु भयो । बैठकमा मध्यमाञ्चल भित्रका जिल्ला तथा नगरस्तरीय उवासंघहरुका तर्फबाट आआफनो क्षेत्रका लगानी सम्भाव्यता एवं मध्यमाञ्चलस्तरीय लगानी वर्ष प्रवद्र्धनात्मक कार्यक्रममा समेटिनु पर्ने प्रस्तावहरुका विषयमा सुझावहरु दिइएको थियो ।