औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विगतमा उद्योग पक्ष र व्यवस्थापन पक्ष बीचको सहमती विपरित औद्योगिक क्षेत्र भित्रका उद्योगहरुले चर्चेको जग्गा तथा भवनको भाडा एकतर्फी रुपमा अत्याधिक वृद्धि गरेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
वि.सं. २०५४ सालमा दुवै पक्ष बीच भाडा वृद्धि गर्ने सम्बन्धमा भएको सहमती र सम्झौता विपरित कर्मचारी संगठनसंग सम्झौता गरी एक पक्षीय ढंगले ८५० देखि १४०० प्रतिशतसम्म भाडावृद्धि भएको विरोधमा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले जारी गरेको आन्दोलनका कार्यक्रमहरुमा यस महासंघको ऐक्यवद्धता जनाउंदै एकतर्फी रुपमा गरिएको अत्याधिक भाडा वृद्धिको विरोध सहित विगतमा भएको सहमती सम्झौता अनुसारनै अगाडी बढ्न महासंघ औद्योगिक क्षेत्र व्यवस्थापन लि.को ध्यानाकर्षण गराउंदछ ।
नेपाल सरकार तथा निजी क्षेत्रले सन् २०१२-१३ लाई नेपाल लगानी वर्षको रुपमा मनाई रहेको र यस बीचमा मुलुकभित्र स्वदेशी एवं विदेशी लगानी वृद्धि गर्न उद्योग व्यवसाय क्षेत्रलाई विभिन्न प्रोत्साहनदायी सुविधा उपलव्ध गराउनु पर्नेमा वर्षौदेखि उद्योग व्यवसाय चलाउंदै आएको ठाउंबाटै उद्यमी व्यवसायी विस्थापित हुने यो निर्णयको महासंघ घोर निन्दा एवं भत्सर्ना गर्दछ । यतिखेर राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा नेपाल लगानीका उपयुक्त छ भन्ने प्रचार प्रसार गर्नुपर्ने वेलामा नकारात्मक संदेश जाने यस किसिमका निर्णय कहींकतैबाट पनि नगर्न नगराउन महासंघ जोडदार माग समेत गर्दछ ।
अत: उक्त भाडा वृद्धि कार्यलाई तत्काल रद्ध गरी समयसापेक्ष एवं मुद्रास्फितीलाई आधार मानी औद्योगिक क्षेत्र भित्रका उद्योगहरुको प्रतिनिधि संस्था नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघसंग वार्ता गरी सहमती पश्चातमात्र नयां भाडादर तय गर्न नेपाल उद्योग वाणिज्य महासंघ गम्भीर आग्रह गर्दछ ।