नेपाल उद्योग वाणिज्य महासंघद्वारा २४ औं विश्व एड्स दिवसका अवसरमा भोली मंसिर ३० गते, शनिवार, काठमाडौंमा एक वृहद चित्रकला प्रतियोगिता एवं प्रदर्शनी (Poster Design Competition, Exhibition and Award Distribution) कार्यक्रमको आयोजना गरिंदै छ ।
चित्रकलाका माध्यमबाट समाजमा एड्स विरुद्ध सामाजिक जनचेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको सो कार्यक्रम काठमाडौंको वसन्तपुरमा आयोजना
हुंदैछ । संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी महासंघले विशेष गरी कार्य क्षेत्रमा एचआइभी/एड्सका वारे व्यापक चेतना फैलाएर यसबाट उद्योग व्यवसायमा पर्ने असरलाई न्यून गर्ने अभियानस्वरुप यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
दशजोड दुई तथा कलेजका विद्यार्थीहरुको सहभागितामा आयोजना हुने सो चित्रकला प्रर्दशनी कार्यक्रमको प्राविधिक व्यवस्थापन सृजना फाइन आर्ट कलेजले गर्दैछ । एचआइभी एड्सका विरुद्धमा जनचेतना अभिवृद्धि गर्ने, यूवा वर्गलाई एचआईभी एड्स विरुद्धको अभियानमा परिचालन गराउन यो कार्यक्रम निकै सफल हुने महासंघले विश्वास लिएको छ ।
कलाका माध्यमबाट एड्सका विषयमा आमजनमानसमा रहेको धारणामा परिवर्तन ल्याउने अभियान स्वरुप महासंघले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । भोली विहान १०:३० बाट सहभागी विद्यार्थीहरुबाट प्रतियोगिताको थालनी हुनेछ । यस वर्षको विश्व एड्स दिवसको नारा “Getting to Zero, Zero New HIV Infections, Zero Discrimination and Zero AIDS Related Deaths” रहेको छ ।
प्रतियोगीहरुले एड्स रोगीहरुलाई समाजमा गरिएको भेदभाव, यौन निरोधक, दूव्र्यशनी, यौन दूराचार, एकभन्दा बढी यौन साथीको प्रयोग, आमाबाट बच्चामा एचआइभी संक्रमण आदि क्षेत्रमा केन्द्रीत रहेर आफ्ना चित्रका माध्यमबाट एड्स विरुद्धमा सामाजिक सन्देश प्रवाह गर्ने छन् । निर्णायकमण्डलीबाट प्रतियोगीहरु मध्ये उत्कृष्ट पांच प्रतियोगीहरुलाई पुरस्कार समेत प्रदान गरिने छ भने यसमा १ सय जना विद्यार्थीहरुले भाग लिंदैछन् ।