नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार सहितको नेपाली व्यवसायी प्रतिनिधिमण्डल र नेपाल भ्रमणमा आएको चीनको ग्वाङडोङ प्रान्तको व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षीय व्यवसायिक भेटवार्ता सम्पन्न भयो ।
महासंघको कार्यकारिणी समितिका सदस्यहरु कल्याणकृष्ण ताम्राकार, शंकर प्रसाद पाण्डे, चन्द्र प्रसाद ढकाल, सहित नेपाली व्यवसायीहरुको उपस्थिति रहेको सो अवसरमा चीनको ग्वाङडोङ प्रान्तका उपमहासचिव याओ हङयिन (Mr. Yao Hengyin, Vice Secretary General, Gaungdong Provincial, P.R.C.) को नेतृत्वमा आएको आठ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल बीच सम्पन्न भेटवार्तामा नेपालमा पर्यटन, पूर्वाधार विकास, उर्जा, खानीजन्य उद्योग, व्यवसायिक कृषिमा लगानीका लागि आग्रह गरियो ।
अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनीयाँ परिषद्को ग्वाङडोङ प्रान्तका उपाध्यक्ष लुओ पिङची (Mr. Luo Bingzhi, Vice President, China Council for Promotion of International Trade-CCPIT, Gaungdong) को समेत सहभागिता रहेको सो भेटवार्तामा दुई देश बीचको व्यापार घाटालाई कम गर्ने विषयमा पनि छलफल भयो । सन् २०१०-११ को तथ्यांक अनुसार नेपाल र चीन बीच करिव ६२१ मिलियन अमेरिकी डलर वरावरको व्यापार घाटा रहेको तथ्यांक सो अवसरमा राखिएको थियो ।
व्यापार घाटा कम गर्नका लागि नेपालमा चिनियां लगानीको विस्तारमा महासंघको तर्फबाट जोड दिंदा ग्वाङडोङको प्रतिनिधिमण्डलबाट नेपालमा लगानीका अतिसम्भाव्य क्षेत्रहरुको पहिचान सहित ठोस परियोजना ल्याउन आग्रह गरियो । लगानीकर्ताहरुको लागी लगानीको सुरक्षा बढी चासोको विषय भएकाले लगानीको संरक्षण हुन सकेमा नेपालमा चिनिया लगानी भित्रीन सक्ने आश्वासन चिनियां पक्षबाट दिइयो ।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी फागुनमा आयोजना गर्ने दोश्रो अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन सो अवसरमा चिनियां व्यवसायीहरुलाई निम्तो समेत दिइयो । नेपालको विकास प्रयासमा आफूहरुले सदैव सहयोग गर्ने आश्वासन दिंदै चिनियां पक्षबाट नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा चीनमा प्रवद्र्धनात्मक कार्यक्रहरु गर्न बैठकमा सुझाव दिइएको थियो भने महासंघका तर्फबाट नेपाल अन्तराष्ट्रिय व्यापार मेला तथा नेपाल लगानी वर्षका अवसरमा चीनका विभिन्न शहरहरुमा आयोजना गर्न गैरहेको रोड सो कार्यक्रमबाट नेपालको प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास दिलाइएको थियो ।
बैठकमा महासंघका तर्फबाट चिन सरकारबाट ४ हजार ७२१ नेपाली वस्तुहरुको निकासीमा दिइएको भंसार छुटको सुविधालाई नेपाली निजी क्षेत्रले भरपुर उपयोग गर्ने विश्वास दिलाउंदै नेपालको चीनसंगको व्यापार विस्तारका लागि सरल वैकिङ सुविधा, व्यापार सहजीकरणका लाागि पूर्वाधार विकास, सुविधासम्पन्न भंसार नाकाहरुको व्यवस्था, चीनमा खपत हुने वस्तुहरुको पहिचान सहित नेपालमा संयुक्त लगानीमा उत्पादन विस्तार, नेपाली उत्पादनलाई चीनमा गुणस्तर मान्यता दिनु पर्ने लगायतमा विशेष जोड दिइयो ।
सो अवसरमा चिनियां पक्षबाट दुई देशका व्यवसायीहरु बीच आपसी सम्बन्ध विस्तार, निरन्तर सूचना तथा सम्पर्क आदान प्रदान, व्यवसायिक भेटवार्ता, संयुक्त लगानीका सम्भाव्य परियोजनाहरुको जानकारी उपलव्ध गराई चिनियां लगानी आकर्षणका लागि वातावरण वनाउन आग्रह गरियो ।