नेपाल उद्योग वाणिज्य महासंघले आगामी फागुन २५ देखि २९ गते (March 8-12, 2013) सम्म काठमाडौंमा आयोजना गर्न लागेको दोस्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारीलाई तीव्र रुपमा अगाडी बढाएको छ । मेलाको तयारीका क्रममा महासंघले आफ्ना सदस्यहरु, नेपाली फर्म, कम्पनी, उद्योग व्यवसाय लगायत विदेशस्थित नेपाली कुटनीतिक नियोगहरु, कन्सुलरहरु एवं विभिन्न राष्ट्रका उद्योग वाणिज्य संघ/महासंघहरुलाई पत्राचार समेत गरिसकेको छ ।
महासंघले मेलामा भाग लिन इच्छुक राष्ट्रिय/अन्तराष्ट्रिय प्रदर्शकहरु (Exhibitors) का लागि स्टल बुकिङ खुल्ला गरिसकेको छ । मेलामा सहभागी इच्छुक स्वदेशी तथा विदेशी उद्योग व्यवसाय, फर्म कम्पनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयको मेला शाखामा सम्पर्क राख्न आग्रह समेत गरेको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा हुंदैछ । यस बीचमा विभिन्न देशबाट व्यावसायिक भेटवार्ताका लागि महासंघमा आएको विदेशी व्यावसायिक प्रतिनिधिमण्डललाई महासंघले मेलामा सहभागिताका लागि आग्रह सहित निम्तो समेत दिएको छ ।
३ सय ५० वटा स्टल मार्फत वस्तु तथा सेवाको प्रदर्शनी हुने उक्त मेलामा सहभागी हुन चाहनेहरुका लागि पहिलो बुकिङलाई पहिलो प्राथमिकता दिइने छ । नेपाल सरकार सहभागितामा आयोजना हुन लागेको सो मेलामा सार्क मुलुक लगायत थाइल्याण्ड, भियतनाम, म्यानमार, चीन तथा कोरिया लगायतका देशका कम्पनी तथा अमेरिका यूरोप लगायतका खरिदकर्ताहरुले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य भनि पहिचान गरेका अदुवा, कफी, हस्तकलाका वस्तुहरु लगायत १९ वटा निर्यात सम्भाव्यता भएका वस्तु तथा सेवाहरुको प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य अनुरुप निरन्तरता दिदै महासंघले उक्त अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको हो ।
नेपाल लगानी वर्ष २०१२–१३ को आयोजनासंगै हुन लागेको दोस्रो नेपाल अन्तराष्ट्रिय व्यापार मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । यसपटकको मेलामा नेपाली वस्तु तथा सेवाहरुको वस्तुगत, जिल्लागत रुपमा छुट्टाछुट्टै पेभेलियन राखिने छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने छ । नेपाल सरकारको सहभागितामा यो मेलालाई निरन्तर रुपमा अगाडी बढाउने महासंघको योजना छ ।
यस वर्षको मेलामा १ हजार ५ सय विदेशी र ३ हजार स्वदेशी व्यापारीहरु तथा २ लाख अवलोकनकर्ताहरुले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ । नेपाल अन्तराष्ट्रिय मेला आयोजनाको लागि करिव १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ ।
महासंघकै नेतृत्वमा विगत १० वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगतस्तर गरी करिव ३० देखि ३५ वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । स्थानीयस्तरमा आयोजना भएको मेलाबाट उत्कृष्ट ठहरीएका वस्तु तथा सेवाको वाह्य प्रवद्र्धनका लागि नेपाल अन्तराष्ट्रिय मेलामा सहभागी गराई स्टल समेत उपलब्ध गराइने छ ।
महासंघले सफलतापूर्वक सम्पन्न गरेको पहिलो अन्तर्राष्टिय व्यापार मेलामा स्वदेशी २७० वटा स्टल र विदेशी ६५ वटा स्टल राखिएको थियो । मेलामा चीन, भारत र कोरियाका उद्योगी व्यवसायीहरुसंग नेपाली व्यवसायीहरुको निकै ठूलो सहभागिता रहेको थियो । मेलामा वंगलादेश, पाकिस्तान, भुटान, चीन, भारत र कोरियाका कम्पनिहरुले भाग लिएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरुको उल्लेख्य सहभागिता थियो ।
अन्तराष्ट्रियस्तरको मेला महोत्सवको आयोजनाका लागि एक प्रदर्शनीस्थलको अभावलाई पुरा गर्न महासंघले सुविधासम्म प्रदर्शनीस्थल निर्माणका लागि पहल समेत गर्दै आएको छ । महासंघले अन्तराष्ट्रिय व्यापार मेलालाई सिंगो मुलुककै ब्रण्डिङको रुपमा विकास गरी लैजाने सोंच अगाडी सारेको छ ।