नेपाल र म्यानमार बीचको आर्थिक व्यवसायिक सम्भाव्यता अध्ययनका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको १३ सदस्यीय प्रतिनिधिमण्डल आज याङगुन तर्फ प्रस्थान गर्यो । भ्रमण नेपाली दुतावास म्यानमार र म्यानमारमा रहेका गैर आवासीय नेपालीहरुको पहलमा भएको हो ।
माघ १२ गते स्वदेश फर्कने महासंघको प्रतिनिधिमण्डलले भावनात्मक सम्बन्ध रहेका नेपाल र म्यानमार बीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, विद्यमान वस्तुस्थिति तथा संयुक्त लगानीका सम्भाव्यताका सम्बन्धमा त्यहाका उद्योगी व्यवसायीसंग छलफल गर्नेछ ।
नेपाल र म्यानमार प्रचुर प्राकृतिक श्रोतले सम्पन्न मुलुकहरु हुन भने यतिखेर म्यानमारलाई लगानीको गन्तव्यका दृष्टिले वाह्य देशहरुले निकै चासोपूर्ण रुपमा हेरिरहेका छन् । अत्यन्त न्यून रहेको द्विपक्षीय व्यापारलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने सम्बन्धमा महासंघको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा विशेष रुपमा उठान गर्ने छ भने नेपालमा लगानीका अवसर तथा नेपाल लगानी वर्ष र सरकारले वाह्य लगानी आकर्षणका लागि लिएका नीतिगत व्यवस्थाका सम्बन्धमा प्रतिनिधिमण्डलले म्यानमारका उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने छ ।
सोही भ्रमणकै क्रममा एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासंघहरुको प्रतिनिधिमुलक संस्था क्यासीको अध्यक्षात्मक भ्रमण (CACCI Presidential Visit to Myanmar) मा पनि महासंघको प्रतिनिधिमण्डलले भाग लिनेछ ।
महासंघका पूर्व अध्यक्ष एवं क्यासी कार्यकारिणी समितिका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, कार्यकारिणी समिति सदस्यहरु चन्द्र प्रसाद ढकाल, शेखर गोल्छा, शाहिल अग्रवाल, क्वेस्ट फर्मास्यूटिकल्स प्रा.लि.का व्यवस्थापन निर्देशक उमेशलाल श्रेष्ठ, हिमालयन सेन्टर फर एजुकेशज डेभलपमेन्ट सेन्टरका अध्यक्ष राजेन्द्रमान शेरचन, अल्टरनेटिभ फर्निचर्सका प्रमुख टासी वाङग्याल लामा, कारोवार दैनिकका प्रधान सम्पादक प्रतिक प्रधान सहित रहनु भएको महासंघको व्यवसायिक प्रतिनिधिमण्डलले माघ ८ गते यूनियन अफ म्यानमार उद्योग वाणिज्य संघ (Union of Myanmar Chamber of Commerce and Industry -UMFCCI) का पदाधिकारी तथा म्यानमारमा रहेका गैर आवासीय नेपालीहरुसंग छुट्टाछुट्टै भेटघाट तथा बैठक गर्नेछ ।
ती दुवै बैठकहरुमा महासंघका तर्फबाट नेपाल र म्यानमार बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा विशेष जोड दिइने छ । साथै सोही दिन सांझ म्यानमारस्थित नेपाली दुतावासका तर्फबाट आयोजना गरिने कार्यक्रममा महासंघको प्रतिनिधिमण्डलले भाग लिने छ ।