नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघ बीच आपसी सहकार्यका लागि आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्था बीच देशको आर्थिक उन्नतीका लागि सहकार्य गरेर लगानी, पर्यटनका साथै अन्य क्षेत्रहरुमा सहयोग गर्ने योजना रहेको छ । सो सम्बन्धी सम्झौतापत्रमा महासंघका तर्फबाट अध्यक्ष सुरज वैद्य र वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार तथा एनआरएनएका तर्फबाट अध्यक्ष जीवा लामिछाने र महासचिव तेन्जी शेर्पाले हस्ताक्षर गर्नुभयो । सोही क्रममा आजै एनआरएनका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको अहिलेको भवनमा चौथो तला थपका लागि रु. १० लाख आर्थिक सहयोग उपलव्ध गराइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले महासंघको तला थप गर्ने अभियानमा एनआरएनबाट पाएको सहयोगका लागि धन्यवाद दिंदै देशको आर्थिक उन्नतीमा दुवै संस्था एकभएर जाने विश्वास दिलाउनु भयो ।
एनआरएनका अध्यक्ष लामिछानेले आफ्नो संस्थाले स्थापनाकालदेखिनै महासंघसंग सहकार्य गर्दै आएको र भविष्यमा पनि दुवै संस्था बीचको सहकार्य र सहयोग निरन्तर रहने विश्वास दिलाउनु भयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष पशुपति मुरारका, महानिर्देशक हेमन्त दवाडी, एनआरएनका महिला मामिला संयोजक रंजु थापा, आइसीसी सदस्य कृष्ण पाण्डे, एनसीसी यूकेका अध्यक्ष कूल आचार्य, पूर्व अध्यक्ष मेजर डम्वर घले, अष्ट्रेलियाका एनआरएन शेष घलेको सहित उपस्थिति थियो ।