नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको नौ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डल, भारतको आग्रामा भारतीय उद्योग परिसंघ (Confederation of Indian Industries-CII) को आयोजनामा आजदेखि शुरु तीन दिने साझेदारी सम्मेलन (CII-Partenership Summit) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्यो । उक्त सम्मेलनमा नेपालको नेतृत्व उद्योगमन्त्री अनिलकुमार झाले गर्नु भएको छ ।
महासंघका अध्यक्ष वैद्यको नेतृत्वमा भारत भ्रमणमा गएको अन्य सदस्यहरुमा महासंघका उपाध्यक्ष पशुपति मुरारका, कार्यकारिणी समिति सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान र शेखर गोल्छा, मोरङ व्यापार संघका अध्यक्ष अविनाश वोहोरा, गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, एफएनसीसीआई–सीआइआई संयुक्त आर्थिक परिषदका सदस्य विजय दुगड, महासंघका सहायक निर्देशक अनुप श्रेष्ठ, नेपाल आर्थिक पत्रकार समाजका दिपेन्द्र वान्तवा हुनुहुन्छ । भारतीय सरकारको सहयोगमा सीआइआईद्वारा आयोजना गरिएको यो सम्मेलन १९ औं संस्करण हो । दीगो विकासका लागि विश्व साझेदारी (Global Partnership for Enduring Growth) मुख्य नारा रहेको यो सम्मेलन माघ १६ गतेसम्म चल्ने छ ।
सम्मेलनले सरोकारवाला निकायहरुका नेतृत्वकर्ताहरु, नीति निर्माताहरु, योजनाकारहरु, उद्यमी व्यवसायीहरुलाई एकै मंचमा ल्याई भविष्यका चुनौतीहरु माथि व्यापक विचार विमर्श गरी आगामी रणनीति तय गर्न सघाउ पुऱ्याउने छ । नेपाल उद्योग वाणिज्य महासंघले यस विश्व सम्मेलनमा नियमित रुपमा भाग लिई आफ्ना धारणाहरु राख्दै आएको छ । नेपालका उद्योग मन्त्री अनिलकुमार झा सहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेशका वाणिज्य मन्त्रीहरुको सहभागितामा हुने भोलीको South Asia Economic Integration: On a New Path of Progress and Hope विषयक व्यवसायिक सत्रलाई महासंघका अध्यक्ष वैद्यले सम्वोधन गर्नुहुने कार्यक्रम छ ।
आग्रा सम्मेलन पश्चात महासंघको प्रतिनिधिमण्डले सीआइआई मुख्यालय, नयां दिल्लीमा माघ १७ गते हुने एफएनसीसीआई–सीआइआई संयुक्त आर्थिक परिषद्९ (FNCCI-CII JEC) को बैठकमा भाग लिने छ । परिषद् बैठकमा एफएनसीसीआई–सीआइआई संयुक्त आर्थिक परिषदका संयोजक एवं महासंघका पूर्व अध्यक्ष पद्य ज्योति, महासंघको कार्यकारिणी समितिका सदस्यहरु चन्द्र प्रसाद ढकाल, ओम बहादुर राजभण्डारी, संयुक्त आर्थिक परिषदका सदस्यहरु दिवाकर गोल्छा, आरवी रौनियार, शंकर प्रसाद पाण्डे, वद्री प्रसाद ओझा, शशीराज पाण्डे, नेपाल भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष श्याम लोहिया, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैदले पनि भाग लिनु हुनेछ ।
बैठकमा हालै नविकरण भएको नेपाल भारत वाणिज्य सन्धी, दुई देश बीच आर्थिक व्यवसायिक सम्बन्धका विषयमा विश्लेषण गर्नुका साथै जलविद्युत, पूर्वाधार विकास लगायतका क्षेत्रमा संयुक्त लगानी विस्तारका विषयमा गम्भीर छलफल हुने छ ।
त्यसैगरी महासंघको व्यवसायिक प्रतिनिधिमण्डलले भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce & Industry-FICCI) का पदाधिकारीसंग नयां दिल्लीस्थित फिकी सचिवालयमा दुई पक्षीय व्यवसायिक भेटवार्ता गर्ने छ । उक्त भेटवार्तामा दुई देश बीचको आर्थिक व्यवसायिक वस्तुस्थिति माथि समिक्षा हुनेछ । सोही दिन सांझ महासंघको प्रतिनिधिमण्डल र सार्क उद्योग वाणिज्य संघ (SCCI) का पदाधिकारीहरु बीच भेटघाट एवं बैठक समेत हुनेछ ।
त्यसैगरी महासंघको प्रतिनिधिमण्डलले माघ १८ गते भारतमा रहेर व्यापार व्यवसाय तथा लगानी गरिरहेका फ्रान्सेली तथा क्यानेडियन लगानीकर्ताहरुसंग छुट्टाछुट्टै भेटघाट एवं छलफल गर्नेछ । ती दुवै कार्यक्रममा महासंघका तर्फबाट भारतमा लगानी गरिरहेका क्यानेडियन र फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीको वातावरण, लगानी सम्भाव्यताका क्षेत्र तथा नेपाल लगानी वर्ष २०१२–२०१३ का विषयमा विस्तृत जानकारी गराइने छ ।