»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शुक्रवारदेखि काठमाडौंमा दोश्रो नेपाल अन्तराष्ट्रिय व्यापार मेला (२०६९/११/२०)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा यही फागुन २५ देखि २९ गते (2nd Nepal International Trade Fair - 2013) सम्म काठमाडौंमा दोश्रो नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना गरिन लागेको छ । भृकुटीमण्डपमा काठमाडौंमा आयोजना हुने सो मेलामा चार सयवटा स्टल मार्फत विभिन्न देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिने छ ।

NITF 2013 Press Meet

नेपाललाई अन्तराष्ट्रिय जगतमा एउटा ब्राण्डिङको रुपमा प्रवद्र्धन गर्न महासंघले यो मेलालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ । पहिलो अन्तराष्ट्रिय व्यापार मेला गत वर्ष काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको थियो । नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा हुने यो मेलामा छिमेकी देश भारत सहित पाकिस्तान, वंगलादेश, भुटान, अमेरिकाको सहभागिता रहने छ भने मेला अवधिभर छिमेकी देश चीन तथा जर्मनबाट ठूलो संख्यामा व्यावसायिक प्रतिनिधिमण्डलबाट मेलाको अवलोकन हुने कार्यक्रम छ ।

सोही समयमा सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरु र सार्क राष्ट्रका उद्यमी व्यवसायीहरुले पनि मेलाको अवलोकन गर्ने कार्यक्रम छ भने मेलाकै अवसरमा सार्क उद्योग वाणिज्य संघको साधारण सभा समेत हुंदैछ । यसबाट मेलाको क्षेत्रीय तथा अन्तराष्ट्रिय महत्व अझ बढ्ने छ ।

मेला आयोजनाका क्रममा विभिन्न देशका उद्यमी व्यवसायीहरुसंग आयोजना हुने व्यवसायिक भेटवार्ताबाट नेपाल र ती देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, व्यापार विस्तार तथा लगानी तथा प्रविधि प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । मेलाका अवसरमा विशेष गरी नेपालका प्रमुख निर्यात मुलक उत्पादनका रुपमा पहिचान गरिएका छ वटा वस्तुहरुको प्रवद्र्धनमा विशेष जोड दिइने छ । मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ रहेको छ भने अहिलेसम्म मोटामोटी सवै स्टल बुकिङ भैसकेका छन् ।

प्रत्यक्ष रुपमा मेलाको दुई लाख भन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिव १५ करोडको कारोवार हुने अपेक्षा महासंघको छ । मेलाको साझेदार राष्ट्र छिमेकी देश भारत रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यस मेलालाई आफनो वार्षिक क्यालिण्डरको रुपमा विकास गरी लैजान लागेको महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार वताउनु भयो । महासंघले यसलाई मुलुकको प्रमुख कार्यक्रमको रुपमा विकास गर्दै यसलाई अन्तराष्ट्रिय जगतमा एउटा ब्राण्डिङको रुपमा लैजाने उहांको धारणा छ । मेलाको हालसम्मको प्रगतिका विषयमा जानकारी गराउन फागुन १८ गते महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष राजकर्णिकारले प्रत्येक वर्षको अप्रिल महिनाको ६ देखि १० तारिखका बीच यो मेला आयोजना गर्ने लक्ष्य पनि सुनाउनु भयो ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाले मुलुकको अर्थतन्त्रलाई चलायमान वनाउने विश्वास उहांको छ । मेलाका लागि मेलाको रुपमा मात्र यसको आयोजना नभई अन्तराष्ट्रिय रुपमै मुलुकको प्रवद्र्धनका लागि यसलाई प्रभावकारी मंचको रुपमा विकास गर्ने महासंघको रणनीति रहेको उहांले वताउनु भयो । वाह्य देशहरुले यस्ता मेलालाई एउटा क्यालिण्डरकै रुपमा आयोजना गरी त्यसबाट मनग्गे लाभ लिने गरेको उदाहरण राख्दै उहांले महासंघले पनि यो मेलालाई सोही अनुरुप विकास गर्ने लक्ष्य लिएको स्पष्ट पार्नु भयो ।

कार्यवाहक अध्यक्ष राजकर्णिकारले मुलुकभित्र एउटा अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि नेपाल सरकारसंग जग्गाको माग गरीरहेको अवस्थामा मन्त्रिपरिषदको हालैको निर्णयबाट अहिलेको यूएनपार्क वागमती किनारको करिव ८० रोपनी जग्गा सरकारले भोगचलनका लागि महासंघलाई दिने निर्णय गरेको र अव छिट्टै महासंघले अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि प्रक्रिया अगाडी बढाउने जानकारी समेत गराउनु भयो । सरकारको यो निर्णयको स्वागत समेत उहांले गर्नुभयो । साथै उहांले मन्त्रिपरिषद्को हालैको स्वदेशी वस्तुको अनिवार्य प्रयोग सम्बन्धी निर्णयको महासंघको तर्फबाट स्वागत गर्दै सोको कार्यान्वयनका लागि आग्रह समेत गर्नुभयो ।

पत्रकार सम्मेलनमा हालसम्मको तयारी वारे जानकारी गराउंदै महासंघको ब्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याण ताम्राकारले मेलाका अवधिभर प्रत्येक दिन देशका महत्वपूर्ण कलाकारबाट मेलाको अवलोकन हुने र यस वर्षको मेलामा महासंघले पहिलो पटक विशेष प्रकारको डोमको व्यवस्था गर्न लागेको जानकारी गराउनु भयो । छिमेकी देश चीनबाट आयात गरिएको नयां डोम एक दुई दिनभित्रै काठमाडौं आइपुग्ने उहांले वताउनु भयो ।

मेलाको मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका छन् । मेलाको मुख्य प्रायोजक सिभिल होम्स प्रा.लि. रहेको छ भने अन्य प्रायोजकमा सिल्भर स्पोन्सर शिखर शु प्रा.लि., मिन्सक ड्रिकिङ वाटर, आधिकारिक एयरलाइन्समा इतिहाद एयरवेज रहेका छन् । त्यसैगरी सहयोगी अन्य संस्थाहरुमा एभेन्यूज टेलिभिजन, स्टाण्डर्ड चार्टर्ड बैंक, ट्रिवेनी ग्रुप, भक्तपुर उद्योग वाणिज्य संघ, छाला जुत्ता तथा वस्तु उत्पादक संघ, घरेलु तथा साना उद्योग महासंघ रहेका छन् भने अन्तराष्ट्रिय साझेदारहरुमा ब्रावेड भारत (BRAWFED INDIA), स्पाडिक्स लि. वंगलादेश (SPADIX LIMITED BANGLADESH), र सिग्नी वोल्र्ड लि. पाकिस्तान (SIGNE WORLD LIMITED PAKISTAN) रहेका छन् । मेलाको व्यवस्थापकमा डाइरेक्शन नेपाल प्रालि र एस्टरिस्क एडभरटाइजिङ प्रा.लि. रहेका छन् ।

पत्रकार सम्मेलनमा समितिका सहसभापति विकासरत्न धाख्वाले धन्यवाद मन्तव्य दिनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.