नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair 2013) को चौथो दिन आजपनि दर्शकहरुको चाप उत्तिकै देखिएको छ । दर्शकहरुको अधिक चाप र प्रदर्शकहरुको माग समेतका आधारमा मेला एक दिन अर्थात फागुन ३० गतेसम्मका लागि बढाइएको छ । यस अघि फागुन २९ गते, मंगलवारसम्म मेलाको अन्तिम दिन तय गरिएको थियो ।
मेला आयोजनास्थल, भृकटीमण्डपमा आज पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराइएको हो । पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै महासंघको ब्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याण ताम्राकारले चौतर्फीमागलाई संवोधन गर्दै मेला एकदिनको लागि थपिएको जानकारी गराउनु भयो । सभापति ताम्राकारले महासंघले अघिल्लो वर्ष भन्दा मेला थप व्यवस्थित भएको र आउंदा वर्षहरुमा यसलाई अझ बढी विशिष्टिकृत गर्दै लैजाने विश्वास समेत दिलाउनु भयो ।
महासंघले अर्को वर्ष मेलामा सहभागी देशहरुको संख्या पनि बढाउन रणनीतिक रुपमै अगाडी बढ्ने योजना सुनाउनु भयो । भोली पौने ४ बजे चीनको सिचुवान एश्जिविसन व्यूरोका उपनिर्देशकको नेतृत्वमा पांच सदस्यीय चिनिया व्यवसायिक प्रतिनिधिमण्डलले मेलाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको ताम्राकारले जानकारी गराउनु भयो । उहांले अर्को वर्षको मेलामा चीनलाई Partner Country को रुपमा ल्याउने बताउनु भयो । साथै उहांले मेलालाई भव्य रुपमा अगाडी बढाउन संचारमाध्यमहरुबाट पाएको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
आजै प्लास्टिक्स, कस्मेटिक्स, लेदर र गार्मेन्ट उत्पादनका विषयमा विटुवी बैठक पनि सम्पन्न भयो । बैठकमा नेपाली र वंगलादेशी व्यवसायीहरुको सहभागिता थियो ।
मेलाको मन्त्री, नेपाल सरकारका सचिवहरु, राजदुतहरु, विशिष्ट सामाजिक व्यक्तित्वहरुले अवलोकन गर्नुभएको पनि उहांले वताउनु भयो । भोली सार्वजनिक विदा परेकाले अवलोकनकर्ताहरु अझ बढ्ने विश्वास गरिएको छ ।
यस वर्षको मेलाको आकर्षणमा नेपाली हस्तकलाका सामग्री, यसवर्ष नयां ल्याइएको Exhibition Tent, भारत तथा वंगलादेशको स्टल विशेष आकर्षणको रुपमा देखापरेको छ । ती स्टलहरुमा दर्शकहरुको अत्याधिक चाप देखिएको छ ।
साथै आजको दिनको विशेष आकर्षणको रुपमा कलाकार मिङमा शेर्पा रहनु हुनेछ । दिनको ३ देखि ५ बजेसम्म कलाकार शेर्पाका गितहरुबाट दर्शकहरुले मज्जालिन पाउने छन् । आजै नेपालका लागि डेनिस राजदुत मोर्टेन जसपर्सेन (H.E. Morten Jespersen, Ambassador of Denmark to Nepal) ले मेलाको अवलोकन गर्नु भयो । भोलीको आकर्षणमा कलाकार एसकुमार हुनेछन् ।
नेपाल लगायत भारत, पाकिस्तान, वंगलादेश, अमेरिका लगायतका देशहरुको सहभागिता रहेको मेलामा चार सयवटा स्टल मार्फत विभिन्न ती देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिएको छ । मेलामा लत्ता कपडा, सूचना प्रविधि, हस्तकला, छालाजन्य, शिक्षा, स्वास्थ, औषधि, व्यवसायिक कृषि उत्पादनहरुको राखिएका छन् । नेपालको स्टलमा विशेष गरी नेपाल व्यापार रणनीति २०१० (NTIS) का अन्तरगत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुहरुको प्रवद्र्धनमा विशेष जोड दिइएको छ ।
नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको पहिलो संस्करण गत वर्ष काठमाडौंमा सम्पन्न भएको थियो । नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग रहेको यस मेलाको अवधिमा सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरु र सार्क राष्ट्रका उद्यमी व्यवसायीहरुले पनि मेलाको अवलोकन गर्ने कार्यक्रम छ भने मेलाकै अवसरमा सार्क उद्योग वाणिज्य संघको साधारण सभा समेत हुंदैछ । यसबाट मेलाको क्षेत्रीय तथा अन्तराष्ट्रिय महत्व अझ बढ्ने विश्वास गरिएको छ । मेलाका अवसरमा विशेष गरी मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ रहेको छ ।
प्रत्यक्ष रुपमा मेलाको दुई लाख भन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिव १५ करोडको कारोवार हुने अपेक्षा महासंघको छ । मेलाको साझेदार राष्ट्र छिमेकी देश भारत रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यस मेलालाई आफनो वार्षिक क्यालिण्डरको रुपमा विकास गरी लैजान लागेको छ ।
मेलाको मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका छन् । मेलाको मुख्य प्रायोजक सिभिल होम्स प्रा.लि. रहेको छ भने अन्य प्रायोजकमा सिल्भर स्पोन्सर शिखर शु प्रा.लि., मिन्सक ड्रिकिङ वाटर, आधिकारिक एयरलाइन्समा इतिहाद एयरवेज रहेका छन् । त्यसैगरी सहयोगी अन्य संस्थाहरुमा एभेन्यूज टेलिभिजन, स्टाण्डर्ड चार्टर्ड बैंक, ट्रिवेनी ग्रुप, सेन्सडाइन, भक्तपुर उद्योग वाणिज्य संघ, छाला जुत्ता तथा वस्तु उत्पादक संघ, घरेलु तथा साना उद्योग महासंघ रहेका छन् भने अन्तराष्ट्रिय साझेदारहरुमा ब्रावेड भारत (BRAWFED INDIA), स्पाडिक्स लि. वंगलादेश (SPADIX LIMITED BANGLADESH) , र सिग्नी वोल्र्ड लि. पाकिस्तान (SIGNE WORLD LIMITED PAKISTAN) रहेका छन् । मेलाको व्यवस्थापकमा डाइरेक्शन नेपाल प्रालि र एस्टरिस्क एडभरटाइजिङ प्रा.लि. रहेका छन् ।