फागुन २५ गते, शुक्रवारदेखि भृकुटीमण्डपमा संचालन भैरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-2013) भोलीसम्म चल्ने छ । मेलामा दर्शकहरुको अधिक चाप तथा प्रदर्शकहरुको माग समेतका आधारमा मेला भोलीसम्मका लागि बढाइएको हो ।
मेलामा आज पांचौ दिन पनि दर्शकहरुको संख्या अधिक रहेको पाइयो । आज मात्रै करिव ५० हजारले अवलोकन गरेका छन् । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको मेलाले राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो महत्व राखेको विश्लेषण छ । राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी यो मेलाको यस वर्षको संस्करणको अन्तिम अवलोकनका लागि महासंघले आम सर्वसाधारणमा आग्रह समेत गरेको छ । आजै नेपालका लागि थाइल्याण्डका राजदुतले पनि मेलाको अवलोकन गर्नुभयो ।
यसैगरी आजै चीनको सिचुवान व्यूरो अफ एक्सो अफियर्स (Sichuan Bureau of Expo Affairs) उपमहानिर्देशक वाङ सु वाङ (Mr.Wang Xiaoguang, Deputy Secretary General) को नेतृत्वमा पांच सदस्यीय चिनिया व्यवसायिक प्रतिनिधिमण्डलले मेलाको अवलोकन भ्रमण समेत गरेको छ ।
सो अवसरमा चिनियां व्यवसायिक प्रतिनिधिमण्डलले आगामी अक्टोवर २३ देखि २७ सम्म छिङदु सिचुवानमा आयोजना हुने पश्चिम चाइना अन्तर्राष्ट्रिय व्यापार मेलाको १४ औं संस्करण (The 14th Western China International Fair) मा नेपालको सहभागिताको लागि महासंघलाई निमन्त्रणा दिएको थियो भने महासंघले उक्त मेलामा नेपालको तर्फबाट कम्तीमा ३० वटा स्टल लिने विश्वास समेत दिलाएको थियो ।
त्यसैगरी सो अवसरमा महासंघका तर्फबाट महासंघको ब्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याण ताम्राकारले नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको आगामी वर्षको संस्करणका लागि कन्ट्री पार्टनरमा चीनलाई बनाउन प्रस्ताव समेत गर्नुभयो । महासंघले मेला अर्को वर्षको मार्च ६ देखि १० तारिखको बीचमा गर्ने तय गरिसकेको छ । साथै महासंघले अर्को वर्ष मेलामा सहभागी देशहरुको संख्या पनि बढाउन रणनीतिक रुपमै अगाडी बढ्ने योजना रहेको छ ।
मेला अवधिभर प्लास्टिक्स, कस्मेटिक्स, लेदर र गार्मेन्ट उत्पादनका विषयमा विटुवी व्यवसायिक भेटघाट समेत सम्पन्न भयो । बैठकमा नेपाली, पाकिस्तानी र वंगलादेशी व्यवसायीहरुको सहभागिता थियो । मेलाको मन्त्री, नेपाल सरकारका सचिवहरु, राजदुतहरु, नेताहरु, विशिष्ट सामाजिक व्यक्तित्वहरुले अवलोकन गर्नुभयो । यस वर्षको मेलाको आकर्षणमा नेपाली हस्तकलाका सामग्री, यसवर्ष नयां ल्याइएको Exhibition Tent, भारत तथा वंगलादेशको स्टल विशेष आकर्षणको रुपमा रह्यो ।
नेपाल लगायत भारत, पाकिस्तान, वंगलादेश, अमेरिका लगायतका देशहरुको सहभागिता रहेको मेलामा चार सयवटा स्टल मार्फत विभिन्न ती देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिएको छ । मेलामा लत्ता कपडा, सूचना प्रविधि, हस्तकला, छालाजन्य, शिक्षा, स्वास्थ, औषधि, व्यवसायिक कृषि उत्पादनहरुको राखिएका छन् । नेपालको स्टलमा विशेष गरी नेपाल व्यापार रणनीति २०१० (NTIS) का अन्तरगत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुहरुको प्रवद्र्धनमा विशेष जोड दिइएको छ ।
मेलाको मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका छन् । मेलाको मुख्य प्रायोजक सिभिल होम्स प्रा.लि. रहेको छ भने अन्य प्रायोजकमा सिल्भर स्पोन्सर शिखर शु प्रा.लि., मिन्सक ड्रिकिङ वाटर, आधिकारिक एयरलाइन्समा इतिहाद एयरवेज रहेका छन् । त्यसैगरी सहयोगी अन्य संस्थाहरुमा एभेन्यूज टेलिभिजन, स्टाण्डर्ड चार्टर्ड बैंक, ट्रिवेनी ग्रुप, सेन्सडाइन, भक्तपुर उद्योग वाणिज्य संघ, छाला जुत्ता तथा वस्तु उत्पादक संघ, घरेलु तथा साना उद्योग महासंघ रहेका छन् भने अन्तराष्ट्रिय साझेदारहरुमा ब्रावेड भारत (BRAWFED INDIA), स्पाडिक्स लि. वंगलादेश (SPADIX LIMITED BANGLADESH), र सिग्नी वोल्र्ड लि. पाकिस्तान (SIGNE WORLD LIMITED PAKISTAN) रहेका छन् । मेलाको व्यवस्थापकमा डाइरेक्शन नेपाल प्रालि र एस्टरिस्क एडभरटाइजिङ प्रा.लि. रहेका छन् ।