टेलिफोन सेवा प्रदायक संस्था एनसेलको नयां वानेश्वरस्थित मुख्यालयमा आज दिउसो नारा लगाउंदै आएका ३५/४० जनाको समूहबाट गरिएको आक्रमणप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । वहुराष्ट्रिय कम्पनीमाथि भएको यस प्रकारको आक्रमणको घोर निन्दा एवं भत्सर्ना गर्दछ । कुनै एक कम्पनीको मामिलालाई लिएर अर्को कम्पनी माथि आक्रमण हुनु न्यायसंगत हुंदैन ।
श्रृंखलावद्ध रुपमा भएका यस प्रकारका आक्रमणबाट मुलुकलाई कुन दिशातर्फ लैजान खोजिएको हो र यस्ता घटनाबाट अन्तराष्ट्रिय जगतमा नेपालका वारे कस्तो संदेश जान्छ गम्भीर भएर सोच्न समेत महासंघ सम्बन्धित पक्षसंग आग्रह गर्दछ । मुलुक विशिष्ट परिस्थितिबाट गुज्रिरहेको अहिलेको अवस्थामा मुलुकभित्र रहेका उद्योग व्यवसायलाई सुरक्षा प्रदान गरेर उनीहरुलाई उद्योग व्यवसाय विस्तारमा प्रेरणा दिनु पर्नेमा उनीहरु माथिको नग्न आक्रमणबाट मुलुकलाई अझ अस्थिरता तर्फ धकेल्ने र मुलुकको अन्तराष्ट्रिय विश्वसनियतामा आंच समेत पुर्याउने छ । यदि यस्ता घटनाहरु श्रृंखलावद्धरुपमा हुंदै गएभने मुलुकबाट पूंजी पलायन हुनुको साथै स्वदेशी एवं विदेशी लगानी समेत बन्द हुने र निर्वाचन तर्फ अगाडी बढेको मुलुकका लागि समेत यसबाट गम्भीर असर पर्ने तर्फ महासंघ सवै राजनीतिक दलहरुको ध्यानाकर्षण गराउंदछ ।
जुन सुकै राजनीतिक दलको आवरणमा घटना भएपनि अपराधीलाई संरक्षण भन्दा कानूनी कठघरामा ल्याउन सहयोग पुर्याउन अपिलगर्दै अपराधीलाई शीघ्र कानूनको कठघरामा ल्याई सख्त कारवाही गर्न महासंघ नेपाल सरकार समक्ष माग गर्दछ ।
केही दिन अघिमात्र उद्योगी विके श्रेष्ठ माथि भएको आक्रमण सेलाउन नपाउंदै भएको यस घटनाले कतै मुलुक पुन: अस्थिरतातर्फ उन्मुख हुन खोजेको र अपराधीहरुको चंगुलमा फस्न लागेको त होइन भन्ने आभास हुन थालेको छ । अत: यस्ता आपराधिक कार्यमा संलग्न जोकोहीलाई पनि कारवाहीका लागि सहयोग गर्न महासंघ सवै राजनीतिक दलहरु समक्ष हार्दिक अपिल गर्दछ ।