नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डिराज ढकाल, महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालालाई आज अर्थ मन्त्रालयमा भेटगर्यो ।
भेटका अवसरमा कार्यवाहक अध्यक्ष राजकर्णिकारले नवनियुक्त अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोइरालालाई महासंघका तर्फबाट हार्दिक वधाई समेत दिनु भयो । अर्थतन्त्र विभिन्न तवरबाट अप्ठेरो स्थितिमा रहेको अहिलेको अवस्थामा विगतमा पनि निजी क्षेत्रसंग नजिकमा रहेर काम गर्नुभएको नाताले निजी क्षेत्रले वर्तमान अर्थमन्त्रीबाट निकै धेरै आशा गरेको बताउनु भयो ।
अर्थ सचिव शान्तराज सुवेदी, महासंघका उपाध्यक्षहरु भवानी राणा, प्रदीपजंग पाण्डे, पशुपति मुरारका समेत सहभागी रहनु भएको सो अवसरमा कार्यवाहक अध्यक्ष राजकर्णिकारले समयमा बजेट नआउंदा विकास निर्माणमा दूरगामी प्रभाव पर्न गएको, शान्ति सुरक्षाको अवस्था पेचिलो बन्दै जांदा उद्योगी व्यवसायीको मनोवल घटन गएको, लोडसेडिङका कारण उत्पादन क्षमता बढ्नुको साथै उत्पादन लागत वृद्धि तथा प्रतिस्पर्धी क्षमतामा ह्रास हुंदै गएको, श्रम समस्या चुनौतीपूर्ण रहेको बताउनु भयो ।
चालु आर्थिक वर्षको वांकी अवधिका लागि पूर्ण बजेट ल्याउने अर्थमन्त्रीको प्रतिवद्धताप्रति स्वागत गर्दै महासंघको प्रतिनिधिमण्डलले निजी क्षेत्रका तर्फबाट महासंघले विभिन्न जिल्लाहरुबाट समेत बजेटका लागि सुझाव संकलन कार्य जारी राखेको, मिसम्याचिङ, डाइरेक्टर लोन जस्ता मुद्दाहरुले उद्योग व्यवसायमा त्रासको वातावरण उत्पन्न भएकाले यसलाई छिटो समाधान गरिनु पर्ने, अर्थ र उद्योग मन्त्रालय बीच समन्वय गरी निजी क्षेत्रले उठान गरेका विषयहरुलाई शीघ्र संवोधन गरिनु पर्ने, बढ्दो आयात तथा घट्दो निर्यातका कारण अर्थतन्त्र क्रमश आयातमुखी बन्दै गएकाले निर्यातमुलक उद्योगहरुलाई बढावा दिने नीति तथा कार्यक्रम ल्याउन पनि सो अवसरमा सुझाव दिइयो ।
त्यसैगरि वर्तमान सरकार संविधानसभाको चुनाव गराउनकै लागि गठन भएपनि चुनाव र आर्थिक विकासलाई संगसंगै लैजानु पर्ने, चालु विकास योजनालाई शीघ्र अगाडी बढाउनु पर्ने, उद्योग व्यवसाय क्षेत्रलाई दीगो र प्रतिस्पर्धी वनाउने वातावरण वनाउनु पर्ने, राजनीतिक अस्थिरताले रुग्ण बन्न पुगेका उद्योगधन्दालाई छिट्टै संचालन गर्ने तर्फ पहल हुन पनि महासंघका तर्फबाट सुझाव दिइयो । त्यसैगरी विद्युत प्रशारण लाइनको निर्माणलाई तिव्रता दिन, नयां श्रम ऐनलाई उद्योग व्यवसाय मैत्री बनाउन, निर्यातमुलक उद्योगलाई दिने विशेष सहुलियतको मात्रा बढाउन, तत्काल लोडसेडिङको अन्त्यका लागि प्रभावकारी कार्यक्रम ल्याउन, निश्चित मितिमा बजेट ल्याउन पहल हुन समेत नवनियुक्त अर्थमन्त्रीलाई महासंघका तर्फबाट आग्रह गरियो ।
सो अवसरमा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले निजी क्षेत्रको छाता संस्था महासंघसंग मन्त्रालयले निकै नजिकमा रहेर कार्य गर्दै आएको र निजी क्षेत्रका सुझावहरुलाई गम्भीरता पूर्वक लिई विश्वासमा लिएर कार्य गर्दै जाने प्रतिवद्धता जनाउनु भयो । निजी क्षेत्रले उठान गरेको समयमा बजेट नआउंदा, श्रम समस्या, लोडसेडिङ, शान्ति सुरक्षा यतिखेरका मुख्य समस्याका रुपमा किटान गरिएको र यी समस्याहरुलाई चिरेर आर्थिक विकासका कार्यक्रमहरु अगाडी बढाउन मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पार्नु भयो ।
निजी क्षेत्रका सुझावलाई मनन गर्दै नवनियुक्त अर्थमन्त्री कोइरालाले निर्धारित मितिमा संविधान सभाको निर्वाचन, सुशासन, आर्थिक विकास सरकारका मुख्य प्राथमिकता रहेकाले आर्थिक विकासलाई अगाडी बढाउन आफू र आफनो मन्त्रालयले निजी क्षेत्रसंग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो । सरकार निजी क्षेत्रको मनोवल वढाउनका लागि हरतरहले लाग्ने विश्वास दिलाउंदै, आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रवद्र्धन गर्न सरकारले विशेष प्राथमिकता दिने अर्थमन्त्रीले बताउनु भयो । मुलुकका लागि यतिखेर उत्पादनमुखी अर्थतन्त्र आवश्यक भएकाले के र कसरी मुलुकभित्र उत्पादनमुखी उद्योगको विस्तार गर्न सकिन्छ निजी क्षेत्रलाई सुझाउन समेत आग्रह गर्नुभयो । सरकारले चालु वर्षको लागि पूर्ण बजेट ल्याउने तयारी गरेको पनि अर्थमन्त्रीले बताउनु भयो । अर्थमन्त्री कोइरालाले अर्थतन्त्र “ट्रेड लिड इकोनोमी“ तीर उन्मुख भएकोमा चिन्ता जाहेर गर्दै “इण्डष्ट्रि लिड इकोनोमी“ तर्फ लैजान सरकार प्रतिवद्ध रहेको र यसमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । निजी क्षेत्रलाई समेत प्रोत्साहन हुने गरी सरकारले सरकारी लगानीको विस्तार गर्ने विश्वास समेत उहांले दिलाउनु भयो ।