निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको ४७ औं वार्षिक साधारण सभा यही चैत्र २८ गते विशेष कार्यक्रमका बीच काठमाडौंमा हुंदैछ । सो सम्बन्धमा जानकारी गराउने उद्देश्यले महासंघले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुरज वैद्यले मुलुकविशिष्ट परिस्थितिबाट गुज्रिरहेको अहिलेको अवस्थामा महासंघको साधारण सभाले निकै ठूलो महत्व राख्ने बताउनु भयो । साधारण सभासंगै महासंघले आफ्नो स्थापना दिवस अर्थात उद्योग वाणिज्य दिवस–२०६९ समेत एकसाथ मनाउदैछ ।
अध्यक्ष वैद्यले मुलुक चरम उर्जा संकट व्यहोर्न बाध्य भएको अहिले अवस्थामा महासंघले आफ्नो वार्षिकोत्सवको अवसरमा सोही विषयलाई विशेष जोड दिएको र यस विषयमा छिमेकी तथा अन्तराष्ट्रिय देशहरुको समेत अनुभव सुनेर नेपालको विद्युत विकासमा योगदान पुऱ्याउन कार्यक्रम महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो । अध्यक्ष वैद्यले निजी क्षेत्र मुलुकको आर्थिक अवस्था, राजनीतिक अस्थिरताबाट अत्यन्त चिन्तित भएको बताउनु भयो । उहांले भन्नु भयो –मुलुकभित्र आर्थिक एजेण्डाले प्रमुख प्राथमिकता पाउनै पर्छ भन्ने हाम्रो जोड हो । निजी क्षेत्रले खासगरी राजनीतिक दलहरुलाई एकैठाउंमा ल्याएर जलविद्युत विकासमा राजनीतिक दलहरुको प्रतिवद्धता लिन चाहेको स्पष्ट पार्नुभयो ।
महासंघको चुनाव नहुने वर्ष भएकाले रणनीति निर्माण तथा विषय वस्तुको गहन छलफल हुने यो साधारण सभाको आफनै महत्व छ । उर्जामा केन्द्रीत हुने यस वर्षको साधारण सभामा नेपालको जलविद्युत विकासमा रणनीति तय गर्ने प्रयास गरिने छ ।
नेपाललाई गरिव मुलुककोस्तरबाट माथि उठाउन हामी अत्यन्त गम्भीर छौं । राज्यलाई कुन दिशातर्फ लैजाने हो, असफल राष्ट्र वा समृद्धशाली यो राजनीतिक दलहरुको हातमा छ, मुलुकभित्र आर्थिक क्रियाकलाप प्रवद्र्धन गर्न पाइयो, अर्थतन्त्रले गतिलियो भने मात्र राजनीतिको गुन्जायस रहन्छ, नत्र राजनीतिको मात्र कुनै गुन्जायस रहने छैन, पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले भन्नुभयो–यसर्थ हामी निजी क्षेत्रले काम गर्ने वातावरण चाहियो भनेर वारम्वार आग्रह गर्दै आएका हौं । महासंघको यस वर्षको साधारण सभाले निजी क्षेत्र सांच्चिनै यो मुलुकका लागि केही गरौ भन्ने अभियानमा रहेको संदेश दिने दावी गर्नुभयो ।
महासंघको यसवर्षको साधारण सभाको मूल “थिम” विकासका लागि परिवर्तन आजैबाट (Change for Development Starts now) भन्ने रहेको छ । वार्षिक साधारण सभाको चैत्र २८ गते, विहान ८:३० बजे मन्त्रिपरिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मीले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुहुंनेछ । समुद्घाटन पूर्व मुलुकका प्रमुख राजनीतिक दलहरुका शीर्षस्थ नेताहरुबाट उर्जा विकासका सन्दर्भमा महासंघले तयार पारेको राजनीतिक प्रतिवद्धतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
प्रतिवद्धतापत्रमा हस्ताक्षर पश्चात राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट सभालाई संवोधन गर्ने कार्यक्रम छ । साधारण सभाको पहिलो प्राविधिक शत्र उर्जा विकासमा अन्तराष्ट्रिय उत्कृष्ट अभ्यासहरु (International Best Practices for Hydropower Development) विषयमा वृहद छलफल हुनेछ ।
मुख्य सचिव लिलामणी पौडेलको अध्यक्षतामा हुने सो सत्रमा भारतीय सरकारका उद्योग वाणिज्य मन्त्रालयका सहसचिव अरविन्द मेहेता (Mr. Arvind Mehta, Joint Secretary, Ministry of Commerce & Industry, Government of India), चाइना थ्री गर्जेज कर्पोरेशनका सहायक अध्यक्ष डा. लु कोचुन (Dr. Lu Guojun, Assistant President, China Three Gorges Corporation, China), विश्व बैंक अमेरिकाका प्रमुख हाइड्रो विज्ञ जीन माइकेल (Mr. Jean Michael, Chief Hydro Expert, The World Bank, USA), अन्तराष्ट्रिय हाइड्रो एसोसिएसनका कार्यकारि निर्देशक रिचार्ड टेलर (Mr. Richard Taylor, Executive Director, International Hydropower Association, UK -IHA), लाओस सरकारको उर्जा तथा खानी मन्त्रालय अन्तरगतको उर्जा व्यवसाय विभागका उपमहानिर्देशक क्यान्थावुन सुक अलोन (Mr. Chanththaboun Souk-Aloune, Deputy Director General, Department of Energy Business, Ministry of Energy and Mines, Laos) ले सम्वोधन गर्नुहुनेछ ।
त्यसैगरी दोश्रो प्राविधिक शत्र नेपालमा उर्जा विकासमा संगसंगै (Together for Hydropower Development in Nepal) भन्ने विषयमा हुनेछ । नेपाल सरकारका उर्जा मन्त्री उमाकान्त झाको अध्यक्षतामा हुने सो सत्रमा उर्जा मन्त्रालय, एशियाली विकास बैंकको दक्षिण एशिया उर्जा विभागका निर्देशक योगंपिंग झाई (Mr. Yongping Zhai, Director, South Asia Energy Division, ADB), जीएमआरका उपाध्यक्ष हरविन्दर मान्चो (Mr. Harvinder Manocha, Vice President, GMR Energy), आइएफसीका प्रमुख लगानी अधिकृत रघुविर वाई शर्मा (Mr. Raghuveer Y. Sharma, Chief Investment Officer, IFC), पीटीसी इण्डिया लिमिटेडका अध्यक्ष तथा व्यवस्थापन निर्देशक दिपक अमिताव (Mr. Deepak Amitabh, Chairman and Managing Director, PTC India Limited (TBC) ले संवोधन गर्नु हुनेछ ।
स्वदेशी एवं विदेशी विशेषज्ञ एवं सम्बन्धित लगानीकर्ताहरुको प्रस्तुती र छलफलका माध्यमबाट एउटा निचोडमा पुगी मुलुकका प्रमुख राजनीतिक दलहरुको जलविद्युत विकासमा प्रतिवद्धता लिइने कार्यक्रम छ । साधारण सभाको समुद्घाटन समारोहमा महासंघका ८ सय भन्दा बढी सदस्यका साथै नेपाल सरकारका मन्त्रीगण, उच्चपदस्थ सरकारी अधिकारीहरु, महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, प्रतिष्ठित उद्यमी व्यवसायीहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु, दातृ निकायका पदाधिकारीहरु लगायतको उपस्थिति रहने छ ।
पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष भवानी राणाले स्वागत र उपाध्यक्ष पशुपति मुरारकाले धन्यवाद मन्तव्य राख्नु भएको थियो । महासंघको साधारण सभामा नियमित गर्नुपर्ने वार्षिक प्रतिवेदन र वासलात पेश गरिनुका साथै समसामयिक विषयमा छलफल समेत हुनेछ । छलफलबाट निस्किएका सुझावहरुलाई प्रस्तावको रुपमा संकलन गरेर कार्यान्वयनका लागि सरकारमा पेश गरिनेछ । त्यसैगरी साधारण सभापूर्व चैत्र २७ गते विभिन्न समूहगत (जिल्ला/नगर, वस्तुगत, एसोसिएट) छलफल गरी त्यसको निचोड भोलीपल्ट अर्थात चैत्र २८ गतेको पूर्ण बैठकमा प्रस्तुत गरिनेछ । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभालाई मुलुकभर अति महत्वका साथ हेरिंदै आएको छ ।