नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले जुम्ला उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारण सभा एवं संघको नवनिर्मित भवनको एक समारोहका बीच आज जुम्लाको खलंगामा उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि अध्यक्ष वैद्यले जुम्लामा जलविद्युत उत्पादन तथा स्याउ उद्योग स्थापनाका लागि महासंघले पहल गर्ने विश्वास दिलाउनु भयो । हिमाली जिल्ला जुम्लामा जलविद्युत उत्पादन तथा स्याउको कच्चा पदार्थ उपभोग गरेर विभिन्न उद्योगहरु स्थापना गर्न सकिने पर्याप्त सम्भावना रहेकाले यस जिल्लामा यी वस्तुहरुमा आधारित उद्योगहरु स्थापनाका लागि महासंघले पहल गर्ने बताउनु भयो । स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न नसकिएसम्म आर्थिक विकास अगाडी नबढ्ने हुंदा जुम्लाको आर्थिक विकासका लागि सम्भाव्य क्षेत्रहरुको पहिचानका उवासंघलाई आग्रह गर्नुभयो ।
अध्यक्ष वैद्यले महासंघले कमजोर उद्योग वाणिज्य संघहरुलाई कसरी सक्षम र उनीहरुलाई स्थानीय आर्थिक विकासको नेतृत्व लिन सक्ने निकायको रुपमा विकास गर्न सकिन्छ भनेर महासंघले विभिन्न योजनाहरु अगाडी बढाएको जानकारी गराउनु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले जुम्लामा आउने विकास र योजनामा कुनै अवरोध नगर्ने लिखित प्रतिवद्धता जनाएमा तत्काल हाइड्रो पावरका लागि काम गर्न सकिने बताउनु भयो । उहांले स्थानीय आर्थिक विकासका लागि महासंघले आफ्ना सदस्य उद्योग वाणिज्य संघहरुलाई प्रभावकारी रुपमा परिचालन गरिरहेको जानकारी गराउंदै जुम्ला उद्योग वाणिज्य संघले पनि यसमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
२०५२ सालमा स्थापना भएको जुम्ला उद्योग वाणिज्य संघले विगत केही वर्षदेखि जुम्लाको आर्थिक विकासका लागि निकै धेरै प्रयास गर्दै आएको छ । एक जिल्ला एक उत्पादन अन्तरगत जुम्लामा स्याउको जुसजाम जेली उद्योगको स्थापनाको लागि उद्योग वाणिज्य महासंघले पहल गर्दै आएको छ । सो अवसरमा जिल्लाको आर्थिक विकासका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
आठौं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा लगायतले पनि मन्तव्य व्यक्त गर्दै जिल्लाको आर्थिक विकासमा जोड दिनु भयो ।
त्यसअघि जुम्ला उद्योग वाणिज्य संघले हिजो खलंगामा आयोजना गरेको जिल्लाका विकास सम्भाव्यता विषयक अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले स्याउ उत्पादनको उर्वर भूमि जुम्लामा स्याउ प्रशोधन उद्योग स्थापनाका लागि महासंघ तयार रहेको बताउनु भयो ।
सो अवसरमा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तरगत जुम्लालाई स्याउ प्रशोधन तथा वजारीकरणमा जोड दिइएको थियो । अध्यक्ष वैद्यले स्याउको ग्रेडिङ, बजार प्रवद्र्धनका लागि ठुलै लगानी आवश्यक भएको भन्दै स्थानीय किसान, सहकारी तथा गैर सरकारी संघ सस्थाहरुलाई लगानीका लागि आव्हान गर्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले स्थानीय पहिचान र स्थानीय उत्पादनको आधारमा उद्योग स्थापनामा प्रोत्साहन गर्ने महासंघको नीति रहेको स्पष्ट पार्नुभयो । महासंघका महानिर्देशक डा. हेमन्त दवाडीको पनि सहभागिता रहेको सो कार्यक्रमलाई संवोधन गर्नुहुंदै वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले जुम्लामा स्याउ लगायतका उत्पादनको प्रोत्साहनका लागि महासंघले छनौट गरिसकेको समेत जानकारी गराउनु भयो ।
सो अवसरमा सहभागीहरुले जुम्लामा उत्पादन हुने स्याउ लगायतका अन्य उत्पादनको सदुपयोगका लागि महासंघको टोलीलाई आग्रह गरिएको थियो ।