नेपाल र इजिप्ट बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका शिलशिलामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा कायरो पुगेको महासंघको प्रतिनिधिमण्डल द्विपक्षीय आर्थिक तथा व्यवसायिक भेटवार्तामा व्यस्त रहेको छ । उक्त व्यवसायिक भ्रमण कायरोस्थित नेपाली राजदुतावासको समन्वयमा भएको हो ।
यसक्रममा नेपाली दुतावास कायरो तथा कायरो वाणिज्य संघ (Cairo Chamber of Commerce) को संयुक्त तत्वावधानमा महासंघको व्यवसायिक प्रतिनिधिमण्डलसंग हिजो सांझ कायरोस्थित होटल सफिरमा व्यवसायिक भेटवार्ता आयोजना गरियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र कायरो चेम्वर अफ कमर्स बीच द्विपक्षीय आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहकार्य गर्ने उद्देश्यले एक समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भयो ।
समझदारीपत्रमा आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आदान प्रदान, एकअर्का देशमा व्यापार मेलाको आयोजना, व्यवसायिक सूचना तथा व्यवसायिक भ्रमणको आदान प्रदानमा जोड दिइएको छ । सोही अवसरमा दुवै देशका उद्यमी व्यवसायीहरु बीच आपसी व्यवसायिक भेटघाट (B2B meeting) समेत सम्पन्न भयो । त्यसअघि महासंघको प्रतिनिधिमण्डल र इजिप्टियन व्यवसायीहरुको संघ (Egyptian Businessmen's Association) तथा फेडरेशन अफ इजिप्टियन चेम्वर अफ कमर्स (Federation of Egyptian Chamber of Commerce) का प्रतिनिधिहरुसंग छुट्टाछुट्टै व्यवसायिक भेटवार्ता सम्पन्न भयो ।
सो अवसरमा महासंघका तर्फबाट इजिप्टियन लगानीकर्ताहरु समक्ष नेपालमा लगानीको सम्भाव्यता विषयमा छलफल भयो । उक्त अवसरमा नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा समेत प्रतिनिधिमण्डलले स्पष्ट पारेको थियो । सो अवसरमा महासंघले सन् २०१४ मा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा इजिप्टको सहभागिताका लागि निमन्त्रणा समेत दिएको थियो । भ्रमणका दौरानमा महासंघको प्रतिनिधिमण्डलले त्यहांको औद्योगिक क्षेत्रको भ्रमण समेत गरेको छ । महासंघको व्यवसायिक भ्रमणबाट नेपाललाई इजिप्टमा प्रवद्र्धन गर्ने तथा दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका दिशामा फलदायी हुन पुगेको छ । तीन दिने व्यवसायिक भ्रमण सम्पन्न गरी महासंघ प्रतिनिधिमण्डल आज त्यहांबाट प्रस्थान गर्दैछ ।