नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित महासंघका पदाधिकारीहरु तथा नेपालका लागि वेलायतका नवनियुक्त राजदुत एन्ड्रयू जेम्स स्पार्किज (Ambassador of the United Kingdom to Nepal H.E. Andrew James Sparkes) बीच आज महासंघ सचिवालयमा द्धिपक्षीय भेटवार्ता सम्पन्न भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, कार्यकारिणी समितिका सदस्यहरु दिनेश श्रेष्ठ, ज्ञानेन्दलाल प्रधान, शंकर प्रसाद पाण्डे, नेपाल व्रिटेन चेम्वरका अध्यक्ष राजेन्द्रकुमार खेतान, यूरोपियन आर्थिक, व्यापार, वाणिज्य तथा उद्योग संघ नेपालका अध्यक्ष विनायक शाह लगायत उपस्थित रहनु भएको सो भेटवार्तामा नेपाल र वेलायत बीचको आर्थिक व्यापारिक सम्बन्ध, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भयो ।
सो अवसरमा महासंघका अध्यक्ष वैद्यले नवनियुक्त राजदुत एन्ड्रयू जेम्स स्पार्किज (H.E. Andrew James Sparkes) को स्वागत गर्नुहुंदै नेपालको आर्थिक विकासमा वेलायती सहयोगको प्रशंसा गर्नुहुंदै आर्थिक विकास तथा रोजगारी सृजनाका लागि महासंघले अगाडी बढाएका कार्यक्रमहरुलाई प्रतिफलमुखी बनाउन वाह्य लगानी एवं प्रविधि आवश्यक भएको सन्दर्भमा वेलायतको सहयोग महत्वपूर्ण हुने बताउनु भयो । ससाना देखि ठूलो परियोजना मार्फत मुलुकभित्र रोजगारी सृजना तथा आर्थिक क्रियाकलाप विस्तार गर्न महासंघले आफ्नो वलियो संजाल मार्फत दातृ निकायहरुसंग मिलेर थुप्रै कार्यगरीरहेको उहांले जानकारी गराउनु भयो । नेपालमा लगानीको सम्भाव्य क्षेत्रको रुपमा पहिचान गरिएका पूर्वाधार विकास, सेवा क्षेत्र (शिक्षा, स्वास्थ्य), व्यवसायिक कृषि, पर्यटन, जलविद्युत तथा खानीजन्य उद्योगको विकासमा वेलायतको प्रविधि तथा लगानी महत्वपूर्ण हुने पनि उहांले औल्याउनु भयो ।
बैठकमा दुई देश बीच उच्चस्तरीय बैठक मार्फत लगानीका सम्भाव्यता तथा समस्या पहिचान गर्नुपर्ने, लगानीका सम्भाव्यता पहिल्याउन द्विपक्षीय व्यवसायिक भ्रमण आदान प्रदान हुनुपर्ने, हवाई सम्पर्क विस्तार गर्नुपर्ने, राजनीतिक अस्थिरताका बीच पनि नेपालमा लगानीको वातावरण सहज भएकाले वेलायती लगानी भित्र्याउन पहल हुनु पर्ने, मानव संशाधन विकासमा सहकार्य लगायतमा विशेष जोड दिइएको थियो ।
महासंघका तर्फबाट आएका सुझाव तथा नेपालको आर्थिक विकासमा निजी क्षेत्र सशक्त रुपमा अगाडी बढिरहेको जानकारी पाउंदा आफू निकै उत्साहित भएको बताउंदै राजदूत एन्ड्रयू जेम्स स्पार्किजले नेपालको विकास प्रयासमा वेलायतको निरन्तर सहयोग रहने विश्वास दिलाउनु भयो । राजदूत एन्ड्रयू जेम्स स्पार्किजले निर्धारित मितिमै संविधानसभाको निर्वाचन हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको र निर्वाचन पश्चात नेपालको आर्थिक विकासको गति अगाडी बढ्ने विश्वास समेत प्रकट गर्नुभयो । रोजगारी सृजना र स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न महासंघले संचालन गरेको एक जिल्ला एक उत्पादन कार्यक्रमको सराहना समेत गर्नुभयो । कुटनीतिक तवरबाट नेपालमा वेलायती लगानी आकर्षणका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास समेत राजदूत एन्ड्रयू जेम्स स्पार्किजले दिलाउनु भयो ।